Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । अध्यागमन विभागबाट बैदेशिक रोजगार विभागमा र त्यहाँबाट पुनः अध्यागमनमा ओहोर दोहोर गर्ने कर्मचारीको ताँती छ । यस्तै कर्मचारीको सेटिङमा अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेलले घुस असुलीको गोरखधन्दा चलाइरहेका छन् । ती कर्मचारीमध्ये अधिकांश विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका, अकूत सम्पत्ति आर्जनमा छानबिन गरेकाहरु छन् ।

बैदेशिक रोजगार विभागमा मानवतस्करीको लाइन चलाएर ‘घुस लेनदेनमा अनुभवी’ अध्यागमन विभागमा सरुवा हुने क्रम बढिरहेको छ । बैदेशिक रोजगार विभागबाट एयरपोर्ट अध्यागमन कार्यालयमा सरुवा हुने कर्मचारीका कारण नेपालबाट गएको असोजमा १ सय ८४ जना महिला कामदार(हाउसमेड) कुवेत गएका थिए । बैदेशिक रोजगार विभागले अनुमति दिए पनि अध्यागमनले ती महिला कामदारलाई रोक्न सक्थ्यो तर सेटिङ भएकै कारण उनीहरु कुवेत जान सफल भएका थिए । कानुनतः सबै प्रक्रिया पूरा गरेर जाने यात्रुलाई अनेक बहानामा दुःख दिने अध्यागमनका कर्मचारीले नेपालबाट हाउसमेड पठाउन बन्द भए पनि बैदेशिक रोजगारका कर्मचारीसँग सेटिङ मिलाएर पठाएका थिए । अध्यागमनमा बैदेशिक रोजगार विभागबाट सरुवा भएका कर्मचारीले नै मानवतस्करीमा सघाउ पु¥याए पनि अख्तियारले उनीहरुविरुद्ध मुद्दा चलाएन । बैदेशिक रोजगार विभागका कर्मचारी र ब्यवसायीविरुद्ध मात्र मुद्दा चलाइएको थियो ।

गृहमन्त्री रामबहादुर थापाले ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन समितिको संयोजक बनाएका इश्वरराज पौडेललाई अध्यागमन विभागको महानिर्देशक बनाएपछि सेटिङ झन् बढेको छ । ‘घुस लेनदेनमा अनुभवी’हरु महानिर्देशक पौडेलका प्रियपात्र छन् । उनले घुस असुलीका लागि अध्यागमन अधिकृत कुलशेखर अर्याललाई परिचालन गर्दैआएका छन् । अर्यालले विदेशबाट ओभरस्टे भएर फर्काइएकाहरुसँग बार्गेनिङ गरी भनेजति घुस पाएपछि सट्याकसुटुक मिलाएर छाडिदिने गरेका छन् । घुस नदिनेलाई कानुनका दफा देखाएर तर्साउने गरेका छन् । नेपालभित्र ओभरस्टे बसेका विदेशीहरु त उनका सबैभन्दा बढी घुस लिने माध्यम भएका छन् । नेपालमा ओभरस्टे बस्ने विदेशीहरुको संख्या हजारौं छ । स्रोतका अनुसार अध्यागमनमा विगतमा केदार न्यौपाने महानिर्देशक हुँदा भन्दा बढी सेटिङ पौडेलले चलाएका छन् ।

अध्यागमनबाट मानवतस्करीको सेटिङ मिलाउने काम निर्देशक विष्णुहरि उपाध्यायले गर्दैआएका छन् । उनी लामो समय बैदेशिक रोजगार विभागमा काम गरी अध्यागमन विभागमा सरुवा भएका उपसचिव हुन् । नायबसुब्बा शिव गौतमहरु पनि महानिर्देशकका असुली गर्ने विश्वासपात्र हुन् ।

स्वच्छ छविका मानिने गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको नाकैमुनि भइरहेको यस्तो खुलेआम घुसखोरीबारे उनी गुमराहमा पारिी गुमराहमा पारिएका छन् । गृहमन्त्रालयमा लामो समय काम गरेको अनुभव भएका अख्तियार प्रमुख नवीन घिमिरेले पनि अध्यागमन विभाग कालिकास्थानमा भइरहेको यो ब्रम्हलुटतिर ध्यान दिन नसकेको गुनासो छ ।
यसअघि नेपाल मानव तस्करीको अन्तर्राष्ट्रिय ट्रान्जिट बन्दै गएको समाचार सार्वजनिक भइसकेको छ । नेपालमा लामो समयदेखि अवैध रुपमा बस्दै आएका पाकिस्तानी तथा इरानी नागरिकहरुलाई यूरोपियन देश पठाउने कार्यमा अध्यागमनकै कर्मचारीको मिलेमतो रहेको छ ।

नेपालमा कुनै पनि विदेशी नागरिक वर्षमा १ सय ५० दिनभन्दा धेरै बस्न पाउँदैनन् । यदि कोही बसेको अवस्थामा उनीहरुलाई महंगो जरिवाना र जेल सजाय समेत हुने गरेको छ । तर, केहीलाई भने सरकारले भिसाको जरिवाना शुल्क समेत मिनाहा गरिदिने गरेको छ । यसमा नेपालस्थित राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगको कार्यालय (यूएनएचसीआर)ले सहजीकरणको भूमिका खेल्ने गरेको छ ।
यसका लागि शरणार्थीहरुसँग पैसा असुल्ने र उनीहरुको जरिवाना मिनाहा गर्ने धन्दा चल्दै आएको छ । अहिले पाँच करोड जरिवाना मिनाहाका लागि गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । यसमा ठूलो आर्थिक चलखेल रहेको स्रोत बताउँछ । विगतदेखि नै यसरी जरिवाना मिनाहा गर्ने एक समूहले अध्यागमन विभागका अधिकारी तथा गृहमन्त्री निकट व्यक्तिहरुलाई प्रभावमा पारेर जरिवाना मिनाहा गराउन लागिपरेका छन् ।

लामो समयदेखि अध्यागमनले यस्तो प्रक्रिया रोक्दै आएको थियो । तर, यूनएनएचसीआरको दबाबको नाममा ५ करोड मिनाहा गर्न लागिएको छ । स्रोतका अनुसार अध्यागमन विभागका अधिकृत कुलशेखर अर्यालदेखि महानिर्देशक ईश्वरराज पौडेल सो समूहबाट प्रभावमा परेका छन् ।
-दृष्टि साप्ताहिक