Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । २०७४ कार्तिकमा नेपाल टेलिकमले आफ्नो सेवालाई आधुनिक प्रविधियुक्त बनाउंदै थप विस्तारित र प्रतिस्पर्धी बनाउनका लागि फोरजीको ३ छुट्टाछुट्टै प्याकेजसहित बोलपत्र आह्वान गरेको थियो । यसका लागि कोर नेटवर्क अर्थात् फोर जी प्रणाली जडान गर्नका लागि २ चिनियाँ कम्पनी हुवावे र जेडटीई कर्पाेरेसन तथा सिंगापुरको माभेनिर एण्ड सिटिएस आई हंकंग(चाइना)ले बोलपत्र दर्ता गरेका थिए ।

देशैभरि फोर जी सेवा विस्तारका लागि नेपाल टेलिकमले लगानी गर्न लागेको करीब १९ अर्ब रकममाथि चलखेल भएको भन्दै सन् २०१८ जनवरीदेखि झण्डै ९ महिनासम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेर छानबिन चल्यो । छानबिनपछि अख्तियारले क्लिन चिट दिएसँगै नेपाल टेलिकमलाई फोर जी सेवा विस्तार गर्ने बाटो खुलेको थियो ।

सुरुमा यो सेवा विस्तारका लागि २६ महिनाको अवधि तोकिएपनि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले १ वर्षभित्र काम सक्ने गरी काम गर्न निर्देशन दिएपछि सन् २०१९ फेब्रुअरी ३ मा टेलिकमले फोर–जी सेवा विस्तार गर्न दुई चिनियाँ कम्पनी सिसिएसआई र जेडटिईसँग ठेक्का सम्झौता गरेको छ। यो योजना तोकिएको समयसीमामा काम पूरा नभएमा सम्बन्धित कम्पनीले हर्जना रकम तिर्ने कडा व्यवस्था पनि गरिएको टेलिकम स्रोत बताउछ ।

विस्तार गर्ने भनिएको फोर जी सेवा इलामदेखि डडेल्धुरासम्म १८ सय मेगाहर्जमा विस्तारित हुने बताइएको छ । यो सेवा अत्याधुनिक र उत्कृष्ट भएको नेपाल टेलिकम स्रोत बताउँदै आएको छ । यसका साथै निजीस्तरको एनसेलले गरेको रु. ६ अर्बको लगानीसँग नेपाल टेलिकमको लगानीलाई दाँज्नै नमिल्ने पनि बताइएको छ । ६ अर्ब खर्च गरेर एनसेलले अहिले २१ जिल्लामा फोर जी सेवा दिँदैं आएको छ ।

नेपाल टेलिकमको यो फोर जी सेवाले पाइलट प्रोजेक्ट अर्थात् फाइभ जी बराबरको सेवा दिने नेपाल टेलिकमले दाबी गरेको छ । यसका लागि विभिन्न ४ शहरका ४ साइडमा टेलिकमले पाइलट प्रोजेक्टको ट्रायल पनि गर्ने भएको छ ।

सञ्चारमन्त्री बाँस्कोटाले ठेक्का सम्झौता भएको दिनबाट ७७ रै जिल्लामा एक वर्षभित्र फोर जी सेवा चालु गर्न निर्देशन दिइसकेको अवस्थामा तोकिएकै समयमा काम सम्पन्न गर्नु पर्ने बाध्यता पनि ठेकेदार कम्पनीलाई छ । अहिले नेपाल टेलिकमले काठमाडौं र पोखराका ६ लाख ९२ हजार बढीलाई फोर जी सेवा उपलब्ध गराउँदै आएको छ ।

यदि तोकिएकै समय अवधिमा नै फोर जी सेवा विस्तार र चालु भएमा नेपाल टेलिकमले गुमाउँदै आएको बजार हिस्सा पनि प्राप्त गर्ने अपेक्षा गरिएको छ । विसं २०७५ मा इन्टरनेटको बजार हिस्सा हेर्ने हो भने नेपाल टेलिकमले ३९.९८ प्रतिशत ओगट्दा एनसेलले ४४.११ प्रतिशत ओगटेको छ ।

अब विस्तारित हुने फोर जी सेवाले नेपाल टेलिकमलाई एनसेलको बराबर टक्करको रुपमा लिने अनुमान पनि गरिएको छ । धेरैले नेपाल टेलिकमको फोर जी सेवाको प्रविधिमा नै समस्या रहेको भनेर गुनासो प्रति टेलिकम भने आफ्नो सेवा र प्रविधि चुस्त र स्तरीय रहेको दाबी गर्दै आएको छ । र यसका लागि भने झण्डै १ वर्ष कुर्नुको विकल्प छैन ।