Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

संखुवासभा । जिल्लामा निर्माणाधीन अवस्थामा रहेको बहुप्रतिक्षित आयोजना अरुण तेस्रो जलविद्युत् आयोजनालाई लक्षित गरी पटक–पटक आगजनी तथा विस्फोटका घटना भइरहेका छन् । तर, पछिल्ला घटनाहरूलाई भने स्थानीयले शंकास्पद रूपमा लिन थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं लगानी सम्मेलन प्रभावित पार्न केही समूहले आगजनी गर्ने गरेको उल्लेख गरिरहेका बेला जिल्लाका विभिन्न राजनीतिक दल एंव स्थानीयले पनि यसलाई शंकाका रूपमा हेरेका छन् । ९०० मेगावाटको यो आयोजनामा अहिले मात्र होइन यसअघि पनि पटक–पटक विस्फोट भएका छन् । जसबाट आयोजनाले क्षतिसमेत बेहोर्नुपरेको छ ।

आयोजनालाई लक्षित गरी २३ मंसिर ०७२ मा पहिलोपटक पुखुवास्थित पावर हाउस निर्माणस्थलको भवनमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाले आगजनी ग¥यो । ०७५ सालको वैशाख १५ गते पनि तुम्लिङटारस्थित अरुण तेस्रोको कार्यालयमा बम विस्फोट भयो ।

माघ २४ गते पुखुवास्थित पावर हाउस निर्माणस्थलको आसपासमा बम विस्फोट भयो । त्यस्तै, गत माघ २७ गते पनि सोही स्थानमा बम विस्फोट भयो । त्यस घटनाको हालसम्म कसैले पनि जिम्मा लिएको छैन ।

यो घटनामा अझ रोचक कुरा त, माघ २४ गते सो स्थानमा बम पड्कियो । तर आयोजना कम्पनीका सिइओ सतिशकुमार शर्मा २५ गते दिउँसोको समयमा मात्रै घटनास्थल पुगे । उनि त्यतिबेला तुम्लिङटारस्थित कार्यालयमा नै थिए । यस्तै, जिल्लाका सुरक्षा निकाय पनि २५ गते दिउँसो मात्रै सो घटनास्थलमा पुगे । जब बम विस्फोट भयो, त्यति नै बेला विभिन्न अनलाइनहरूमा समाचार प्रशासित भयो ।

तर, जिल्लाका पत्रकारलाई जानकारी नगराइएको स्थानीय पत्रकारहरूले बताएका छन् । नेपाल पत्रकार महासंघ संखुवासभामा अध्यक्ष इन्द्र गिरीले भने, ‘अघिल्लो दिन रातिको घटना रहेछ, तर हामीलाई जानकारी गराइएन, हामीले जिल्लाभन्दा बाहिरबाट सञ्चालनमा रहेका अनलाइनहरू हेरेर मात्रै थाहा पायौँ ।’ जिल्लाका पत्रकारलाई थाहा नदिई जिल्ला बाहिरका पत्रकारलाई मात्र जानकारी गराउनु शंकाको विषय भएको जिल्लाका पत्रकारहरूले आरोप लगाएका छन् ।

यता, स्थानीयहरूले यो घटना सुनियोजित भएको आरोप लगाएका छन् । मकालु गाउँपालिकाका एक स्थानीयले भने, ‘यसरी पटक–पटक घटना हुनु, घटनाको जिम्मा कसैले नलिनुमा हामीलाई शंका लागेको छ, यो सबै भारतीय सेना ल्याउने खेल हो ।’ स्थानीय बासिन्दाका अनुसार बम विस्फोट भएको ठाउँबाट भाग्ने ठाउँ कतै छैन, तलतिर अरुण नदी मात्रै छ भने माथितिर गाउँ छ । पड्काएर भाग्न सजिलो छैन, अझ प्रहरीको बिटसमेत त्यही ठाउँमा छ । उनीहरूले यस्ता चुनौती देखाएर सतलज कम्पनिको आयोजना फेल गराउने रणनीति रहेको र भारतीय सेना आयोजनास्थलमा ल्याउने प्रयास भइरहेको दाबी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला एकता कार्यदलका सदस्य हेमराज घिमिरेले पनि यो घटना नियोजित भएको भन्दै शंका व्यक्त गरे । घिमिरेले भने, ‘प्रशासन तथा अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रर्वदक कम्पनीहरूले जिल्लाका राजनीतिक दललाई जानकारी नगराउनु, घटना गोप्य राख्नु र कुनै पनि राजनीतिक तथा तथा अन्य पक्षले घटनाको जिम्मेवारी नलिनुमा यो नियोजित हो भन्ने मलाई लाग्छ ।’ यो कुनै राजनीतिक घटना नभएको समेत उनले दाबी गरे ।

नेपाली कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले जुनसुकै हालतमा अरुण तेस्रो परियोजना सम्पन्न हुनुपर्ने भन्दै यस्ता घटनामा कसैले जिम्मा नलिनुमा भने अली गम्भीर हुन जरुरी भएको बताए । उनले भने, ‘यदि यस्ता घटना राजनीतिक रूपमा भएका छन् भने ती राजनीतिक दलका असन्तुष्टिहरूलाई हल गरेर यो आयोजना सम्पन्न गर्नुपर्छ ।’

पावर हाउस र बाँध निर्माणस्थल एकान्तमा हुनु र जिल्लामा सुरक्षाकर्मीको कमीका कारण अरुण तेस्रोले सुरक्षा चुनौती व्यहोर्नुपरिरहेको संखुवासभाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारु मगरले बताए । ठूलो भौगोलिक क्षेत्र भएको संखुवासभामा दरबन्दीअनुसार सुरक्षाकर्मी नभएकाले पनि पर्याप्त सुरक्षा निर्माणस्थलमा खटाउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाउँदै आएको छ ।

अरुण तेस्रोको सुरक्षाका लागि मात्र पावर हाउस निर्माणस्थलमा १३ जना, ड्याम साइड निर्माणस्थलमा १५ जना र कार्यालय तुम्लिङटार परिसारमा मात्रै १५ जना नेपाल प्रहरी परिचालित छन् । पावर हाउस, ड्याम साइड, तुम्लिङटार कार्यालयका लागि खटाइएको प्रहरी पर्याप्त नभएको प्रनाउ मगरले बताए ।