काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्दैछ। प्रत्येक नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूतिका लागि आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न सरकारले आज प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम एक औपचारिक कार्यक्रम गरी घोषणा गर्ने तयारी गरेको छ। बुधबार मध्यान्ह १२ बजे राष्ट्रियसभागृहमा हुने समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्ने मन्त्रालयले जनाएको छ। कार्यक्रम अन्तर्गत प्रत्येक गाउँपालिका र नगरपालिकामा एक रोजगार सेवा केन्द्र रहनेछ।

रोजगार सेवा केन्द्रमा एक जना रोजगार संयोजक रहने व्यवस्था गरिएको छ। बेरोजगार व्यक्ति र रोजगारीका अवसर सम्बन्धी सूचना र तथ्यांक संकलन गरी अद्यावधिक राख्न रोजगार सेवा केन्द्रको स्थापना गर्न लागिएको हो। प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरूको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने प्रधानमन्त्री रोजगार कार्यक्रममा उल्लेख छ।