Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । ‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ झापा कचनकवल–६ की गुलेरुन बेगम सम्झिन्छिन्, ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ। ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो। अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्,’ उनी भन्छिन्।

गुलेरुनकी छोरीले १२ कक्षा पास गरिसकिन्। अब उनी छोरीको पढाइ यहीं रोकिदिन चाहन्छिन्। किनभने उनलाई छोरीको बिहे नहुने चिन्ता छ। ‘मेरी छोरीले धेरै पढेकैले २१ वर्ष पुग्दा पनि बिहे हुन सकिरहेको छैन,’ उनले भनिन्, ‘१२ सम्म पढाउँदा त यस्तो छ। अझ बढी पढाउने हो भने के होला ’

कचनकवलका झन्डै सात सय मुस्लिम परिवारको कथा यस्तै छ। यो समुदायमा छोराभन्दा छोरीले बढी पढेका छन्। स्कुल जानेमा पनि छोरीकै संख्या ज्यादा छ। तर, यो आँकडाले समाजको वास्तविक चित्र देखाउँदैन। किनभने मुस्लिम महिलाले शिक्षा आर्जन गरे पनि त्यसको उपयोग गर्न पाउँदैनन्। घरबाहिर निस्केर काम गर्न सक्दैनन्। छोराहरू पाँच–छ कक्षामै स्कुल छोडेर विदेश वा व्यवसायमा लाग्छन्। गाउँमा पढेका केटा छैनन्। छोरीलाई बढी पढाए उनीहरूको स्तर सुहाउँदो जोडी भेटिँदैन। त्यसैले पढेका छोरीको विवाह कठिन हुन पुग्छ।

मुस्लिम समुदायमा छोरीको बिहे २० वर्ष पुग्नुभन्दा पहिले नै गरिदिनुपर्ने मान्यता रहेको गुलेरुन बताउँछिन्। ‘गाउँमा कक्षा १२ पढेका केटा पनि छैनन्,’ उनले भनिन्, ‘अब योभन्दा बढी पढायो भने त केटा नपाएर बिहे नै नहोला भन्ने डर मात्र हुन्छ।’ गुलेरुनकै छोराले ९ कक्षामै पढाइ छोडे। उनी बुबासँगै मिस्त्री काम गर्छन् र कमाउँछन्। उनको टोलमा अधिकांश केटा एसएलसी पास गरेर विदेश गएका छन्।