Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

ललितपुर । गोदावरी नगरपालिका–४ बडिखेलका ५५ वर्षीय नरबहादुर पहरीको नाति आशिषको ११ वर्षको उमेरमा व्रतबन्ध हुँदै छ । नरबहादुरले नातिको व्रतबन्धमा ३०० साथीभाइ, नातागोता र आफन्तलाई निमन्त्रणा गर्ने बताउँछन् ।

उनले निमन्त्रणा गरेका मध्ये २५ महिलालाई पच्छेउरा र चोलो अनि २५ पुरुषलाई सात हातको फेटा र टोपी नातिको व्रतबन्धमा बाँड्नैपर्ने चलन भएको जानकारी दिए । ‘रु ३० हजार देखि ५० हजारको बाजा हाल्नुपर्छ, घरका हरेक सदस्यलाई नयाँ लत्ताकपडा किन्नुपर्यो, १४ थरीका गेडागुडी भिजाएर सितन बनाउनुपर्छ, स्वस्थानी व्रतकथाको अन्तिम दिन देवालीमा व्रतबन्ध गर्ने चलन रहँदा अनिवार्य हाँस, कुखुरा, बोका र कुमारीपाठीको मासु चाहिन्छ, सगुनमा जाँड, रक्सी, छ्याङ, चिसो, अण्डा, पान र माछा सबैको जोडजाम गर्न र भोज खुवाउन रु पाँच लाख खर्च हुने अनुमान गरेको छु,’ नरबहादुरले भने ।

बडिखेल घर भएका राजु पहरी र सरस्वती पहरीका ११ वर्षीय छोरा अजयको पनि यही फागुन ७ गते व्रतबन्ध हँुदैछ । राजुले छोराको व्रतबन्धमा ४०० साथीभाइ, नातागोता र आफन्तलाई निमन्त्रणा गर्ने जानकारी दिए ।

‘व्रतबन्ध अघिपछि गरी लगभग एक हप्ताको भोज, तीन खसी, दुई हाँस, तीन कुखुराको भाले, तीन बोरा चामलको जाँड, १०० लिटर रक्सी, भोज, लत्ताकपडा, बाजा बजाउन र भाँडाकुडा किनमेल गर्न रु पाँचदेखि साढे पाँच लाख रकम खर्च हुन्छ’, राजुले भने ।

त्यसैगरी बडिखेलकै ५४ वर्षीय अलैँची पहरीका १३ वर्षीय नाति विकलको पनि फागुन ७ गते व्रतबन्ध हुँदैछ । नातिको व्रतबन्धमा अलैँचीले ६०० देखि ७०० साथीभाइ, नातागोता र आफन्त निमन्त्रणा गर्नुपर्ने बताए ।

‘नजिकका पुरुष आफन्तलाई २०० फेटा, टोपी र २०० पच्छेउरा चोलो, धोती बाँड्नुपर्छ’, दुईवटा पोथी हाँस, पाँच कुखुराको भाले, एउटा कुमारीपाठी, चार खसी, ३० किलो कुखुराको मासु, बाजा, भोज र भाँडाकुडा किनमेलमा रु छ लाखदेखि सात लाख खर्च हुन्छ’, अलैँचीले भने ।
नेपाली परम्परा र संस्कारअनुसार विवाह अन्य कार्यको तुलनामा तामझामका साथ गर्ने चलन छ । यस्ता सुखद् काम मानिसले आफ्नो गच्छेअनुसार गर्ने गर्छन् । विवाहमा विशेषतः सबै मानिसको बढी नै खर्च हुने भए पनि बडिखेलका पहरी समुदायको व्रतबन्धको तुलनामा साधारणनै मान्नुपर्छ ।

यी जातिले विवाहभन्दा बढी खर्च व्रतबन्धमा गर्ने गर्छन् । यिनीहरूको परम्परा, संस्कृति र रीतिरिवाज नेवार समुदायको जस्तै देखिए पनि कुनै रूपमा मेल नखाने यी समुदायका अग्रज दलबहादुर पहरीले बताए ।

पहरीले हरेक वर्ष स्वस्थानी व्रतकथा समाप्तिको अन्तिम दिन देवाली गर्ने गर्छन् । यही देवालीमै व्रतबन्ध गर्ने यो सदियौँ पुरानो चलन हो । पहरीको व्रतबन्ध विवाहसरह विशेष किसिमले तामझामका साथ गर्ने भएकाले हरेक वर्ष यिनीहरूको व्रतबन्धमा विभिन्न प्रकारका बाजागाजाको धुनले त्यो क्षेत्रनै गुञ्जयमान हुने गर्छ ।

यो जातिमा विशेषतः प्रेम विवाह गर्ने चलन बढी छ । हरेक बिजोर वर्ष यिनीहरूले छोरा नातिको व्रतबन्ध गर्ने गर्छन् । यदि व्रतबन्ध गर्न आँटेको वर्ष कुनै छेकथुन भएमा यी जातिले अर्काे बिजोर वर्षमा गर्छन् ।

यो जातिले देवालीको दिन प्रत्येक घरबाट हाँस अनिवार्य निकाली काट्ने सदियौँ पुरानो चलन रहेको छ । पहरीको देवाली हाँसबिना कुनै पनि किसिसले सम्पन्न हुँदैन । यिनीहरूले जतासुकै गएर भए पनि देवालीलाई हाँस अनिवार्य खोजेर ल्याउनैपर्ने हुन्छ ।

हाँस काट्ने, चामलको रोटी (चटामरी) पकाउने, कुलदेवतालाई चढाउने, रोटी माथि हाँसको टाउको राखेर घरको थकालीलाई दिने चलन छ । सादा चामलको रोटीमा हाँसको फिला हाली सासू र जेठानीलाई घरकी कान्छी बुहारीले दिने चलन यिनीहरूमा अझै पनि कायमै छ ।

यी जातिको व्रतबन्धमा मामाचेला र फुपूचेला ल्याउने चलन छ । भान्जाको व्रतबन्धमा मामाले लुगा, जुत्ता, गहना गाग्रो, करुवा, पूजाको थाली, १४ थरीका काँचो वा पाकेको सितन, जाँड, रक्सी, चिउरा, मासु दिन्छन् ।

भान्जाको व्रतबन्ध सिध्याएर मामामाइजूलाई बिदा नगरेसम्म उनीहरू भान्जाको घरमा बस्ने चलन छ । भान्जाको व्रतबन्ध सिध्याएर घर फर्कंदा उनीहरूलाई काटेर खुइल्याएको बोकाको फिलामा रु चार÷पाँच हजार राखेर धूपबत्ती बालेर पूजा गरी बिदा गर्नुपर्ने बताइन्छ ।

त्यसैगरी फुपू पनि भदाहा वा माइतीले व्रतबन्ध समाप्तिपछि बिदा नगरेसम्म माइतीनै बस्नुपर्छ । फुपूले भदाहाको व्रतबन्धमा काटेर खुइल्याएको कुमारीपाठीलाई धूपबत्ती बालेर पूजा गर्नुपर्छ । मामामाइजूले भान्जाको व्रतबन्धमा जति रकम हालेका हुन्छन् त्यसको आधा रकम फुपूले पनि भदाहालाई हाल्नुपर्ने हुन्छ ।

व्रतबन्धको चार दिनपछि मामामाइजू र फुपूलाई उनीहरूले ल्याएको भोज वा सामग्रीमा आधा फर्काउनुपर्ने हुन्छ । आफन्तसहित मामामाइजू र फुपूलाई मादल बजाएर यिनीहरूले सगुनका साथ गीत गाउँदै घर फर्काउने पुरानो चलन छ । यो जातिको चलन नेपालका अन्य जातिको चलनमा खासै मेल खाँदैन ।

यो जातिको घरमा हरेक महीना कम्तीमा एक वा दुई चाडपर्व परिरहन्छ । बाँसको हस्तकला निर्माण गर्ने यो जातिको पुरानो पुख्र्यौली पेशा हो । बडिखेलका ६० प्रतिशत पहरीले बाँसको हस्तकला निर्माण गरी आफ्नो दैनिकीको साथै विभिन्न चाडपर्व, परम्परा, रीतिरिवाज मनाउने गरेका छन् ।