Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

दाङ । यहाँको घोराही उपमहानगरपालिका–१० लमडरुवा डाबरस्थित ऐलानी बस्तीको सानो झुपडीमा बस्ने एक वृद्धा आमाको संघर्ष र उद्यमशीलताको निकै मार्मिक कथा छ ।

सानै उमेरदेखि बाँसका सुपा बुन्न सिकेकी ७२ वर्षीया भुमकला घर्तीको बुढेसकालमा यही सीप नै सहारा बनेको छ । अहिले पनि उहाँ दैनिक तीन वटा जति सुपा बुन्छिन्, आफू र श्रीमानको जोहो यसैबाट चलेको छ । ‘यत्ति त होइन, सानो श्रीमानको पसल पनि छ’ –आफ्नै सीप र श्रमको त्यति बढाइचढाइ गरेको मन पर्दैन उनलाई ।

साविक सैघाको खानीगाउँमा जन्मेकी भुमकलाको गाउँमै सानैमा विवाह भयो । एक छोरा र चार छोरी जन्मे । छोरीहरु सबैको विवाह भयो । छोराले पनि बिहे गरे । श्रीमान् रहँदासम्म राम्रै थियो उनको परिवार तर श्रीमान् बितेपछि छोरा बुहारीबाट सम्मान पाउन सकिनन् ।

‘बुढा त बिति गए, छोरा बुहारीले राम्रै व्यवहार गर्लान् भनेर १२ वर्षसम्म बसें’, उनी विगत सम्झिन्छिन्– ‘तर, पछिपछि त छोराबुहारी नै लागेर मलाई पिट्न थालेपछि बसिनसक्नुभयो र नयाँ घरबारको सोच बनाएँ ।’

नभन्दै साविक सैघाकै श्रीमती बितेका एक वृद्ध भेट्नि उनले । ‘उहाँको पनि श्रीमती बितेको दुई वर्ष भएको रहेछ, म पनि १२ वर्षदेखि छोराछोरीको पिटाइ खाँदाखाँदा हुरुक्क भइसकेकी थिएँ’, ७१ वर्षको उमेरमा नयाँ घरवार बसाउनुको कारण खोल्दै उनले भनिन्– ‘दुवैका दुःख उस्तै रहेछन्, मन मिल्यो अनि ७१ वर्षमा नयाँ घरबार जोडियो ।’