Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । सरकारले समाजकल्याण परिषद्का सबै पदाधिकारीलाई बर्खास्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोषमा अनियमितता गरेको भन्दै परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य सचिव डिल्लीप्रसाद भट्ट, तथा सदस्यहरू इन्द्रकुमार झा र गोकर्णप्रसाद भट्टलाई बर्खास्त गरेको हो ।

यसअघि सरकारले उनीहरूसँग दुई पटक स्पष्टिकरण लिएको थियो । परिषद्का पदाधिकारीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको र उनीहरू अनियमिततामा मुछिएको भन्दै सरकारले सबैलाई बर्खास्त गरेको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

कोषका पदाधिकारीहरूले अनियमितता गरेको समाचार केही दिनअघि मात्रै प्रकाशित भएको थियो । समाजकल्याण परिषद्का पदाधिकारीहरूले मिलेमतो गरी अनियमितता गरेको र कोषलाई क्षति पुर्‍याएको भन्दै त्यस सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन सरकारले पूर्व मुख्य न्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

सो आयोगले परिषद्मा व्यापक अनियमितता भएको ठहर गर्दै सबै पदाधिकारीलाई बर्खास्त गर्न सरकारसमक्ष सिफारिस गरेको थियो । आयोगको सो सिफारिसअनुसार सरकारले सबै पदाधिकारीलाई बर्खास्त गरेको हो ।