Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

जाजरको । भेरी नदीमा बस खसेर बिहीबार साँझ ४ जनाको मृत्यु भयो । भेरी नगरपालिका–१ रिम्ना नजिकको सडकबाट नदीमा बस खसेर भएको दुर्घटनाको मुख्य काराण साँघुरो सडकको मोड, सडकमा जोखिमपूर्ण तरिकाले बनेको चटानको खोच र त्यसमाथि गाडीको गति नै रहेको पाइएको छ ।

गाडी चालक वा त्यसमा चढ्ने यात्रुहरु सबै डराउने सडक क्षेत्र हो, खलङ्गा रिम्ना सडकखण्ड । ८ वर्ष अघि विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीवीकोपार्जन कार्यक्रम (ड्रिल्पी) अन्तर्गत निर्माण भएको उक्त सडक अहिलेसम्म राम्रोसँग स्तरोन्नति नहुँदा जीर्ण र जोखिमपूर्ण बन्दै गएको स्थानीय सरोकारवालाहरु बताउँछन् ।

बिहीबार गाडीमा यात्रा गर्ने यात्रुहरु धेरै सङ्ख्यामा नभएका कारण ठूलो मानवीय क्षति हुन पाएन । १३ जना सवार उक्त गाडीमा ४ जनाको ज्यान गयो भने ९ जना घाइते भए । जाजरकोटका लागि अघिल्ला सडक दुर्घटनाको तुलनामा यो दुर्घटना सानो भए पनि सरोकारवालाहरुले सधै भइरहने सडक दुर्घटनाको कारण खोज्नुपर्ने स्थानीयवासी गगनबहादुर खड्का बताउँछन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीले पनि बिहीबार साँझ रिम्नाको सडकबाट भेरीमा बस खस्नुका प्रमुख कारण अप्ठेरो सडक र तीव्र गति भएको बताए।

जाजरकोट–डोल्पा सडकअन्तरर्गत खलङ्गादेखि रिम्नासम्मको सडकखण्डको अवस्था निकै दयनीय भएको र जोखिमपूर्ण अवस्था भए पनि सडकको स्तरोन्नति गर्न स्थानीय जनता र सञ्चारकर्मीहरुले सडक डिभिजन कार्यालय चौरजहारी, स्थानीय तथा केन्द्रीय जनप्रतिनिधिहरु र अन्य सरोकारवाला निकायहरुमा बारम्बार विभिन्न माध्यमबाट ताकेता गरे पनि कुनै सुनुवाइ नभएको पीडितहरु बताउँछन् ।

जाजरकोट–डोल्पा सडकको खलङ्गा रिम्नाखण्डको मात्र होइन खलङ्गा पाँच काटिया सडकको अवस्था पनि रिम्नाभन्दा कम छैन । सडक निर्माण भएको नौ वर्षसम्म बस चलाउन नसकिएको उक्त सडकमा पनि पानी परेको बेला गाडी गुडाउन मिल्दैन ।

सडक निर्माण गर्दा निकै गुणस्तरहीन काम हुनु र सडक स्तारोन्नति गर्नेतर्फ स्थानीय सरकार, केन्द्र सरकार र अन्य सरोकारवालाहरुले ध्यान नदिएका कारण खलङ्गा पाँचकाटिया सडक पनि जीर्ण र जोखिमपूर्ण रहेको कुसे ५ का डिल्लीबहादुर थापाले बताए ।

यस्तै सदरमुकाम खलङ्गा बजार प्रवेश गर्ने नाकाको रुपमा रहेको मटेला पुलदेखि बोहोरा गाउँसम्मको सडकको अवस्था पनि जीर्ण छ । बोहोराको उकालो लाग्ने पासागाड खोलाको छेउमा कालोपत्रे सडकमा ठूलो खाल्डो परेको दुई वर्ष बिते पनि कुनै सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय दुर्गाबहादुर श्रेष्ठले बताए ।

जाजरकोटबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सांसद र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफूले सांसदमा निर्वाचित भएको एक वर्षभित्र खलङगा– रिम्ना, खलङ्गा –पाँचकटिया र छेडाचौरदेखि थलह बजारसम्मको सडक कालोपत्रे गर्ने वाचा निर्वाचनका बेला गरेको थियो ।

मन्त्री बस्नेतको बाचाअनुसार कालोपत्रे हुने त के बिग्रेको सडकको गतिलो मर्मतसमेत नहुँदा सर्वसाधारणले ठूलो सास्ती बेहोर्नुपरेको स्थानीयको आरोप छ । यता मन्त्री बस्नेतको बाचाअनुसार सडक विभागले ती सडकहरुमा कालोपत्रे गर्नका लागि टेन्डर आव्हानको प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ ।

यस अघि २०७१ मङ्सिर ४ गते ५४ जना र २०७३ फागुन २६ गते २९ जनाको ज्यान जाने गरी भएका ठूला बस दुर्घटनाहरुका कारण गाडी दुर्घटनाको खबर सुन्ने बित्तिकै जाजरकोटवासीहरु निकै डराउने गर्छन् । खलङ्गा रिम्ना सडकमा मात्र रु २१ करोड रकम खर्च भएको छ ।