Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

कैलाली । डिपिटी खोपबाट बालकको मृत्यु भएको घटनालाई लुकाई खोप सप्लायर र खाेप लगाउने स्वास्थ्यकर्मीहरुलाई बचाउने दाउमा रहेका लम्कि चुहा नगरपालिकाका मेयर महादेव बजगाँई यतिबेला तनाबमा रहेको खबर छ ।

बालकको मृत्यु खोपबाट नभई अन्य कारणले भएको हो भन्नु भन्दै मृतकका परिवारलाई उनले दवाव दिंदै आएका थिए । खोपकै कारण बालक मृत्यु भएको आशंकाको समाचार साँघु साप्ताहिकमा प्रकाशित भएपछि बजगाँईले बचावका लागि पत्रकार सम्मेलन गर्दै हिंडेको खबर छ ।

२०७५ माघ २० गते दिउँसो लगाएको खोपका कारण लम्कि चुहा नगरपालिका वडा नम्बर १ भुरुवा कुन्टी खेतकी पुजा आलेमगरका ६ महिने छोरा बिनोद आलेमगरको मृत्यु भएको थियो । खोप लगाएपछि अन्य एक दर्जन बालबालिकाहरू विरामी भएका थिए । खाेप संक्रमित रहेकाेले बालकाे मृत्यु भएकाे स्वास्थ्यकर्मीहरुले आश‌ंका गरेका छन । सही तरिकाले स्टोर नगर्दा खाेप संक्रमित हुने गर्दछ ।

बालको मृत्युको कारण डिपिटी खोप नभएको दाबी गर्दैै आएका मेयर बजगाईले स्थानीय सञ्चारकर्मीहरूलाई समाचार नलेख्न निर्देशन दिएका थिए । मृतकका परिवारका सदस्यहरूले स्थानीय सञ्चारकर्मीहरूलाई घटनाको बारेमा खबर गर्दा पनि समाचार प्रकाशन र प्रशारण भएको थिएन । स्थानीय सञ्चारकर्मीहरूलाई उनले प्रलोभनमा पारेर आफ्ना विरुद्धका समाचार रोक्ने प्रयास गर्ने गरेको लम्किवासी बताउछन ।

खोपका कारण बालकको मृत्यु र एक दर्जन बालक बिरामी भएको समाचार साँघु साप्ताहिकमा प्रकाशित भएपछि अत्तालिएका बजगााईले मृतक बालकका ठूलाबुवा प्रेम आलेमगरलाई डर, धाकधम्की देखाई पत्रकार सम्मेलनमा उपस्थित गराएको भुरुवाका गाउँलेहरू बताउछन ।

भुरुवामा मगर परिवारका करीब दश घरधुरी छन । निम्नस्तरको आर्थिक हैसियत भएका मगर परिवारलाई मेयर बजगाँईले प्रहरी इन्सपेक्टर सुरेन्द्रप्रसाद जोशीको सहयोगमा धम्क्याएकोले प्रेम आलेमगरले पत्रकार सम्मेलनमा मयेर बजगाँईको पक्षमा बोल्नु परेको स्थानीयको दावी छ ।

मेयर बजगाँईका अघोषित स्वकीय सचिव विष्णु खनालले तयार पारेको प्रेस विज्ञप्ति पढेर सुनाउनेक्रममा प्रेम आलेमगर रोएका थिए । उनले भनेका थिए ‘‘खोपका कारण मेरो बालक मर्दा पत्रकार गुहारें कोही पनि आएनन् । समाचार लेखेनन् । अहिले मेयरको अपमान भयो भन्दै आयोजना गरेको पत्रकार सम्मेलनमा तपाईहरू यति धेरै पत्रकार आउनु भयो । गरीबलाई पत्रकारले समेत सहयोग गर्दा रहेनछन ।’’

पैसाका बलमा स्थानीय सञ्चारकर्मीलाई समेत आफ्नो नियन्त्रणमा राखेका मेयर बजगाईको पोल स्थानीयको सहयोगमा कैलाली बाहिरका सञ्चारकर्मीले खोल्न थालेपछि उनी तनावमा रहेको नगरपालिकाका कर्मचारी बताउछन ।

निर्वाचित भएको पहिलो बर्ष सडक मर्मतका नाममा करीब १७ करोड खर्च गरेर त्यहाँबाट आएको कमिसनले चुनाव खर्च असुल गरेका मेयरको उपमेयर टीका थापाले सार्वजनिकरुपमै आलोचना गर्दै आएकी थिइन ।
-साँघु