Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । टोखा नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी परेकाे छ । समिति गठन भएयता ४३ उजुरी दर्ता भएकाे छ । त्यसमध्ये २१ उजुरी जग्गा विवादका छन् ।

अधिकांश उजुरी साँध सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरिएकाे सम्बन्धी छन् । एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी नगरपालिकाको न्यायिक समितिमा पर्ने गरेको उपप्रमुख ज्ञानमाया डङ्गोलले बताए ।

उहाँका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा २९ वटा उजरी दर्ता भएकामा १० वटा जग्गा विवाद, पारिवारिक विवादको पाँच, सम्बन्धविच्छेदको चार, घर निर्माणको विवाद दुई र ठगी, लेनदेनको दुई उजुरी दर्ता भएको बताए ।

यस अवधिमा १८ वटा मुद्दा किनारा लगाइएको छ । दुई उजुरी अदालतमा पठाएको, एउटा कार्यार्थ मालपोत कार्यालयलाई पत्राचार गरेको छ । तीन उजुरी मुलतवीमा राखिएको र बाँकी छ उजुरी प्रक्रियामा रहेको उपप्रमुख डङ्गोलले बताए ।

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरेपनि घर, जग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी, लेनदेनका उजुरी न्यायिक समितिमा छन् ।

आर्थिक वर्ष २०७५, ७६ मा १३ वटा उजुरी दर्ता भएकामा ५ घर लजग्गा विवाद सम्बन्धी उजुरी परेको छ । त्यस्तै तीन पारिवारिक विवादका उजुरी दर्ता भएका छन् । सम्बन्धविच्छेदका दुई उजुरी परेका छन् । एउटा घर निर्माण विवाद र बाँकी एउटा ठगी, लेनदेनसम्बन्धी उजुरी न्यायिक समितिमा दर्ता भएका छन् ।

नगरपालिकामा सबै उजुरी लिखित रुपमा आउने गरेका छन् । उपप्रमुख डङ्गोलको संयोजकत्वमा रहेको समितिमा दुई जना कानून व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार इजलास राख्दै आएको छ ।