Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

धनगढी । हिन्दीमा एक उखान छ “खाली दिमाग शैतानका घर” जब मान्छे खाली हुन्छ तब उसले अनेक खुराफाती गर्न थाल्छ । त्यस्तै खुराफातले गर्दा नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीमा लफडा आइलागेको छ । नेता तथा कार्यकर्ताहरु विभाजित भइरहेका छन । तत्कालिन नेकपा एमालेमा माओवादी केन्द्र मिसिएर बनेको नेकपामा पुराना एमाले र माओवादीको मन मिलिनसकेको अवस्थामा तत्कालीन एमाले पक्षधर नेता तथा कार्यकर्ताहरुमा व्यवहारिक विभाजन देखिनुले समस्या झन जटिल बनेको छ ।

२०७५ माघ १९ गते धनगढीमा हुने प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव बिष्णु पौडेल जाने कार्यक्रम तय भएको थियो । प्रदेश कमिटीले सर्वसम्मतरुपमा कार्यकर्ता प्रशिक्षणको निर्णय गरेको थियो । उक्त कार्यक्रम भव्यरुपमा सफल बनाउन कार्यक्रम तयारी समिति गठन गर्ने विषयमा नेकपाका प्रदेश इन्चार्ज भीमबहादुर रावलले लफडा गरेपछि माघ १९ को प्रशिक्षण विथोलियो । उक्त कार्यक्रम अब फागुन ८ गते हुने भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले प्रशिक्षणलाई सम्बोधन गर्ने पक्का पक्की भएको छ ।

कार्यकर्ता प्रशिक्षण फागुन ८ गते हुने भएपनि माघ १९ को कार्यक्रम विथोल्ने योजना कसले बनायो यसमा क–कसको संलग्नता छ भन्ने कुरा प्रदेशका नेकपाका नेता तथा कार्यकर्ताहरुमा खोजीनीतिको विषय बन्दा कार्यक्रम विथोल्ने खुराफात गर्ने व्यक्तिका रुपमा दीर्घ सोडारीको नाम चर्चामा आएको छ । मन्त्री र पार्टी सदस्यताबाट हटाइएपछि सोडारी फुर्सदै फुर्सदमा छन । यतिबेला उनको दिमाग खाली छ अनि उनले खुराफातमात्र सोच्ने गरेको नेकपा कैलालीका नेता कार्यकर्ताहरु बताउने गरेका छन ।

सोडारी पदीय आचरण विपरीत काम गरेको भन्दै गत कार्तिक २७ गते प्रदेश मन्त्रीबाट बर्खास्तमा परेका थिए । उनी सुदूरपश्चिम प्रदेश सरकारमा सामाजिक विकास मन्त्री थिए । धनगढी उपमहानगरपालिकाको मिलन चोक बडहराकी एक जना विवाहित महिलालाई प्रेमिका बनाई करीब ८ बर्षदेखि अबैध सम्बन्ध राख्दै आएको भेद खुलेपछि सोडारीलाई मन्त्री र नेकपाको साधारण सदस्य समेतबाट हटाइएको थियो ।

ती महिलासंगको सम्बन्धका बारेमा सोडारी पत्नी गीताले थाहा पाएपछि “मेरो लोग्नेलाई बिगार्ने तै होस” भन्दै गीताले मोवाइलमा गाली बेइज्जती गरेको अडियो रेकर्ड र दीर्घ र ती महिलाबीच मोवाइलमा भएका अश्लील संवादको अडियो रेकर्ड बालुवाटार पुगेपछि सोडारी मन्त्रीबाट बर्खास्त र पार्टी सदस्यबाट समेत निलम्बित हुनु परेको थियो ।

दीर्घका बारेमा निर्णय लिन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई बोलाएर मौखिक छलफल गरेकाे श्रोत बताउछ । श्रोतले भन्यो “वरिष्ठ नेता नेपाल दीर्घलाई कारवाही गर्ने पक्षमा थिएनन” किन भने नेपालमाथि नेकपाका सुदूरपश्चिम इन्चार्ज भीमबहादुर रावलको दवाव थियो ।

जब प्रधानमन्त्री ओलीले बालुवाटारमा भेला भएका अर्का अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललगायतका नेताहरुलाई दीर्घ र उनीकी श्रीमतीले ती महिलासंग गरेका अनेक खालका अडियो रेकर्ड सुन्न थाले अनि वरिष्ठ नेता नेपालले भैगो, भगौ । अब अगाडि नसुनौ । यति भए पुग्छ । बाँकी सुन्न सकिदैन भनेर कारवाहीका लागि सहमति जनाए ।

बालुवाटार श्रोतका अनुसार “अडियो यति अश्लील थियो कि सुन्ने मानिस नै लाजले रातोपिरो भएको अवस्था थियो ।” त्यसपछि दीर्घ सोडारी माथि कारवाहीका लागि प्रदेश सरकार र नेकपाको प्रदेश कमिटीलाई निर्देशन दिइएको थियो ।

श्रोतका अनुसार “इन्चार्ज भीमबहादुर रावल दीर्घ सोडारीलाई बचाउन चाहान्थे । उनले सोडारीलाई बचाउन नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापालाई आग्रह गरेका थिए । तर, थापाले अध्यक्षद्वयलगायतको निर्देशनको पालना गर्ने बताएपछि रावल रिसले आगो भएका थिए । त्यहीबाट सुदूरपश्चिम प्रदेशमा रावल र थापाको टस्सल भएको हो ।”

६ बर्षदेखि तत्कालीन नेकपा एमालेको कैलाली अध्यक्ष रहेका सोडारी रावलका दाहिने दात थिए । कैलाली एमालेमा अछामीहरुको प्रभुत्व जमाउने योजनामा सोडारी, भीमबहादुर रावलका भरपर्दा कार्यकर्ता थिए । त्यतिबेला रावलका अर्का कार्यकर्ता झपटबहादुर रावल तत्कालीन कैलाली एमालेका इन्चार्ज थिए । बाहिर हेर्दा दीर्घ र झपट मिलेका नदेखिने तर कमिसन र चन्दा असुलीका मामिलामा पक्का दोस्त रहेको नेकपा कैलालीका नेता कार्यकर्ताहरु बताउछन ।

यी दुई जनाले पैसाको लोभमा घोडाघोडी नगरपालिका सुखडका छड र सिमेन्ट बेच्ने पसले अमर साउँदलाई प्रदेश सभाकाको टिकट दिएको चर्चा अहिले कैलालीमा छ । दीर्घ सोडारीलाई २० लाख र झपट रावललाई २० लाख रुपैया भेटी चढाएर कैलाली क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेश सांसद भएका साउँदले यी दुबैजनालाई सुरुमा १० – १० लाख रुपैया दिएको र बाँकी २० लाख उधारो रहेको चर्चा आजभाेलि पनि हुने गरेकाे छ ।

साँउद पनि के कम बाँकी उधारो २० लाख रुपैया मध्येबाट १० लाख रुपैया झपटलाई मात्र दिने र दीर्घलाई नदिने मुडमा रहेपछि अहिले साउँद र सोडारीबीच मनमुटाव देखिएपछि एकबर्ष अघिका कर्तुत छताछुल्ल भइरहेको नेकपाका कार्यकर्ताहरु बताउछन । साँउदले प्रदेश सांसद हुनु अघि तत्कालीन एमालेको कुनै पनि कमिटीमा काम गरेका थिएनन । उनी विशुद्ध व्यवसायी मात्र थिए ।

सोडारी मन्त्री र पार्टी सदस्यबाट हटाउदा पावरलेस भएकोले किन पैसा दिने भन्ने तर्क साउँदले गर्ने गरेको श्रोतले बतायो । इटा, सरिया र सिमेन्टका व्यापारी साँउदले सोडारीलाई धनगढीमा घर लगाउन पाँच लाख रुपैया मूल्य बराबरको इटा निशुल्क दिएर विश्वास जितेका थिए । सोडारीले गत बर्ष सम्पन्न संघीय तथा प्रदेशको चुनाव अघि धनगढी नगरपालिका वडा नम्बर १ शिव नगरमा घर निर्माण सम्पन्न गरेका छन ।

तत्कालीन एमालेको अध्यक्ष भएको ६ बर्षे अवधिमा सोडारीले कैलाली जिल्लामा दर्जनौ काण्ड रचेर विवादस्पद छवि बनाएका थिए । मन्त्री र पार्टी सदस्यताबाट हटाईएका तिनै सोडारी अहिले नेकपा सुदूरपश्चिममा भिलेनको रोल खेलेर खुराफात गरिरहेको सुदूरपश्चिमका नेता तथा कार्यकर्ताको बुझाई छ । काठमाण्डौमा स्थायी बसोबास गर्ने भीमबहादुर र झपटबहादुर रावलहरुलाई झुठमुठ कुराहरु पनि सुनाउने गरेकाे प्रदेशका नेता तथा कार्यकर्ता बताउछन । आजकाल साेडारीकै सूचनाका आधारमा रावलद्वयले धारणा बनाउने गरेकाे बताइन्छ ।

माघ २७ गते नेकपा सुदूरपश्चिमका इन्चार्ज भीमबहादुर रावल, स्थायी समिति सदस्य लेखराज भट्ट र अध्यक्ष कर्णबहादुर थापा प्रदेश पदाधिकारीको बैठकका लागि धनगढी एअरपोर्टमा पुग्दा रावल र भट्टलाई फूलमाला र खादाले स्वागत गरेको र थापाको घाँटी खाली नै देखिने तस्विर र भिडियो सामाजिक सञ्जालमा राखेर अध्यक्ष थापाको अपमान गर्ने षडयन्त्रका योजनाकार पनि दीर्घ सोडारी र कैलाली क्षेत्र नम्बर २ का सांसद झपट रावल भएको कैलालीमा चर्चा छ ।

सोडारी र रावलको सल्लाहमा कैलालीको टीकापुर आसपासबाट नेपाली कांग्रेस निकट युवाहरु समेतलाई २६ गते नै अत्तरिया बोलाई भाेज खुवाई एअरपोर्टमा रावल र भट्टलाई मात्र माला र खादा ओढाउनु भनेर सोडारीले प्रशिक्षण दिएको श्रोतको दाबी छ । श्रोतले भन्यो “ भाडामा ल्याएका नेपाली कांग्रेस निकट ती युवाहरुले सोडारीले भने बमोजिम गरे ।” धनगढी एअरपोर्टमा थापा माथि भएको सुनियोजित अपमानका तस्विर र भिडियोहरु सामाजिक सञ्जालमा हालेको विषयको अनुसन्धान गरेर दोषीलाई कारवाही गर्नुपर्ने सुदूरपश्चिमका इमान्दार कार्यकर्ताहरुले माग गरेका छन ।

श्रोतले भन्यो “भीमबहादुर रावल र झपट रावलहरु सुदूरपश्चिम प्रदेशको पार्टीमा माइक्रो लेबलमा हस्तक्षेप गर्न खोज्दैछन् । त्यसका लागि राजनीतिक जीवनमा उटपट्याङ काम मात्र गरेर विवादित बनेका दीर्घ सोडारीलाई अहिले प्रयोग गरिरहेका छन ।” कारवाही छिटो भन्दा छिटो फुकुवा गरिदिने आश्वासन रावलहरुले दिएको नेकपा सुदूरपश्चिम श्रोतको भनाई छ । बालुवाटारमा प्रधानमन्त्री लगायत पार्टीका शीर्ष नेताहरु बसेर अडियोमा सुनेको अश्लील संवादको सजाय जेल हुनु पर्ने हो भन्दै बालुवाटार श्रोतले भन्यो “सोडारीलाई किन बचाए आश्चर्य लागेको छ ।”

मन्त्री र पार्टी सदस्यताबाट बर्खास्तगीमा परेका दीर्घ, भीम र झपटसंग मिलेर सुदूरश्चिमको नेकपामा भाँडभैलो मच्चाउन उद्दत छन । प्रदेश सभा र स्थानीय सरकारमा भीम, झपट र दीर्घको मिलोमतोले टिकट बाँडेका कारण केही मानिसहरु यी तीन जनाप्रति बफादार देखिएका छन । यिनै मानिसहरुको सहयोग र सर्मथनमा दीर्घ सोडारी गुमेकी शक्ति फर्काउन लागेको धनगढीका एक जना विश्लेषकको भनाई छ ।

यसै सन्दर्भमा सोडारीलाई प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिले एउटा छानबिन उपसमितिको संयोजकको जिम्मेवारी दिएको छ । कैलालीको बाह्र वन साझेदारी वन व्यवस्थापन कार्यक्रमको अध्ययन गर्न सोडारीको संयोजकत्वमा समिति गठन गरिएपछि प्रदेश सांसद समेतले विरोध गरेको खबर छ । सोडारी कैलाली एमालेको अध्यक्ष हुदा आफै पनि बन मुद्दामा मुछिएका व्यक्ति हुन । सरकारी कर्मचारी तथा वन माफियाको मिलोमतोमा कैलालीको वन जंगल कटानी फडानीमा सोडारीको नाम मुछिदै आएको थियो । ( साँघु साप्ताहिक)