Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । शिवम् सिमेण्टको आईपीओमा पहिलो दिन सर्वसाधारणको न्यून आवेदन परेको छ । प्रिमियम मूल्य घटाएर सोमवारदेखि स्थानियको अवितरित शेयरसहित सर्वसाधारणको लागि कम्पनीले शेयर जारी गरेको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार सोमवार १३ जना स्थानियले १ हजार १ सय ३० कित्ता शेयर खरीदका लागि आवेदन दिएका छन् । कम्पनीले यसअघि स्थानियलाई शेयर जारी गर्दा वितरण हुन नसकेको ५ लाख ८९ हजार ६४० कित्ता शेयर पुनः विक्रीमा ल्याएको हो ।

त्यस्तै, सर्वसाधारणको लागि ४१ लाख २० हजार कित्ता शेयर जारी गरेकोमा पहिलो दिन ६ लाख ४ हजार ५६० कित्ताका लागि मात्र आवेदन प्राप्त भएको छ । उक्त कित्ता खरीदका लागि ४ हजार ८ सय ३९ जनाको आवेदन प्राप्त भएको विक्री प्रबन्धकको भनाइ छ ।

स्थानियलाई यसअघि प्रिमियम सहित तीन सय रूपैयाँमा शेयर बेचेको शिवमले यसपटक प्रिमियम मूल्य घटाएर स्थानियको लागि दुई सय रूपैयाँ र सर्वसाधारणका लागि तीन सय रूपैयाँ कायम गरेको छ । प्रिमियम घटेसँगै यस अघि बढी मूल्यमा शेयर खरीद गर्ने स्थानियलाई थप शेयर दिने निर्णय कम्पनीको छ । यस आधारमा स्थानियले १ लाख १ सय २० कित्ता शेयर थप पाउनेछन् ।

शिवमले सर्वसाधारणका लागि कुल ४४ लाख कित्ता साधारण शेयर छुट्याएको थियो । कुल कित्तामध्ये कम्पनीका कर्मचारीहरुलाई २ लाख २० हजार कित्ता र सामूहिक लगानी कोषहरुलाई २ लाख २० हजार कित्ता छुट्याएकोमा माग बमोजिम ६० हजार कित्ता शेयर बाँडफाँट गरी बाँकी शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

यस आईपीओमा स्थानियले पनि सि-आस्बा मार्फत आवेदन दिन सक्नेछन् । छिटोमा फागुन ९ र ढिलोमा चैत ५ गतेसम्म विक्री खुला हुने यस आईपीओमा स्थानियले न्यूनतम ५० देखि अधिकतम ५ लाख ७९ हजार ६ सय ४० कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, सर्वसाधारणले न्यूनतम ५० देखि अधिकतमा ४४ लाख कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । हाल रू। ३ अर्ब ८७ करोड २० लाख चुक्तापूँजी रहेको यस कम्पनीको सर्वसाधारणका लागि छुट्याएको रू। ५२ करोड ८० लाख बराबरको शेयर बाँडफाँट पश्चात रू। ४ अर्ब ४० करोड पुग्नेछ ।