Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

बिराटनगर । प्रदेश १ सरकारले बिराटनगरदेखि सुनसरीको इटहरीसम्मका लागि मोनोरेल चलाउने सपना देखेको छ । तर, हालै कुनै पनि संरचनाको गतिलो व्यवस्था नभएका बेला यो चर्चा ‘पपुलर’ बन्ने होडमात्र रहेको सर्वसाधारण बताउँछन् ।

हाल इटहरीदेखि बिराटनगरसम्मको सडकलाई चौडा गर्नका लागि संरचना भत्काइएको मात्र छ । सडक नै राम्रोसँग बनाउने अवस्था नरहेका बेला मोनेरेलमार्गको परिकल्पना पनि तत्कालै गर्ने ठाउँ नहरेको सर्वसाधारण बताउँछन् । दुहवी नगरपालिकाका सलिम अन्सारी भन्छन्,‘बजारलाई कसरी व्यवस्थित गर्ने भन्ने विषय नै अन्यौलमा छ, कसरी अहिले मोनोरेल चलाउन सकिएला र ?’

सरकारले व्यवस्थित बनाएर चलाउन चाहे मोनेरेल बन्न कुनै कठिन छैन । तर छेउछाउका र उक्त मार्गमा पर्नसक्ने उद्योग र बस्तीको संरचना भत्काउनुपर्ने अनिवार्य देखिन्छ । अन्सारी थप्छन्,‘घोषणा गरेजसरी सजिलै मोनोरेल चलाउने अवस्था छैन । बरु, दूरी त्यतिसाह्रो नरहेका कारण सडक चौडा गरी सार्वजनिक सवारी साधन र सरकारी सवारी साधनको व्यवस्था गरे राम्रो हुने थियो ।’

अस्थायी राजधानीका रुपमा रहेको विराटनगरदेखि टंकी सिनुवारीसम्म सडक केही चौडा गरिएको छ । तर, त्यहाँदेखि इटहरीसम्मको अवस्था अझ बेहाल अवस्थामा नै छ । सवारीको चाप मात्र होइन, भारी ओजनका सवारी साधन पनि सोही सडकमा दौडीने गरेका छन् । करिब चार सय भन्दा बढी उद्योगका सामान ढुवानीका लागि भारी ओजनका सवारी साधन अनिवार्य दौडने सडकको विकल्पमा मानोरेल सर्वसाधारणका लागि उपयुक्त हुने भए पनि सडकको अवस्था सुधानर गर्नु राम्रो हुने, बिराटनगरका सर्वसाधारण गोकुल भण्डारी बताउँछन् ।

उनका अनुासर प्रदेश सरकार आफ्नै संरचना बलियो नभएको, राजधानीका विषयमा नै उचित निर्णय लिन नसकेका बेला विकासका कामका अति आधुनिक कुरा सपना जस्ता मात्र देखिन थालेका छन् ।

त्यसो त मोनोरेल चलाउने कुरा प्रदेश मुख्यमन्त्री शेरधन राईले बारम्बार गर्दै आएका छन् । तर उनको काम अहिले विभिन्न ठाउँमा मेला महोत्सव र कार्यक्रम उद्घाटन, त्यसको प्रमूख अतिथि भन्दा केही पनि नरहेको देखिन्छ । कतिपय सन्दर्भमा त एउटा सामान्य कार्यक्रम उद्घाटनका लागि पनि उनले हेलिकोप्टरको बारम्बार प्रयोग गरी व्यय भार बढाएको भन्ने आरोप लाग्ने गरेको छ ।

‘मुख्यमन्त्रीले प्रदेशलाई बलियो बनाउने भन्दा पनि कार्यक्रम उद्घाटन र आतिथ्यतामा धेरै ध्यान दिन थालेको देखिन्छ, तिव्र गतिको विकासका लागि कुनै पहल नगरेको हो की ?’, नेकपाका स्थानीय कार्यकर्ता भन्छन्,‘उनले यतिबेला काम गरेर देखाउनुपर्ने बेला हो ।’