Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । नेपाली फिल्मका दुई नक्षेत्र हुन प्रदीप खड्का र अनमोल केसी । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने युवापुस्तालाई हलसम्म डोर्‍याउन यी दुई स्टारको ठूलो योगदान छ । अहिले नेपाली फिल्ममा प्रदीप र अनमोलकै साम्राज्य छ भन्दा सायद गलत नहोला । सर्वाधिक चर्चा यी दुईकै छ।

नेपाली फिल्ममा आफ्नो बर्चश्व कायम गर्न थालेको पनि धेरै भएको छैन । करीब ६ वर्ष अगाडि अनमोल ‘होस्टेल’ बाट , र प्रदीप ‘प्रेमगीत’बाट चम्किए ।

‘एनएफडिसी अवार्ड’ मा पहिलो पटक आमने–सामने भएका उनीहरु मिडियाले एकसाथ तश्बिर खिचाउन आग्रह गरेपछि दुईले अंकमाल गर्दै केहीबेर कानेखुसी पनि गरेका थिए । यसपछि चर्चा हुन थाल्यो अब उनीहरुबीच स्टारडमको लडाइँ सकियो ।

केही हप्ता अगाडि प्रदीपले अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ को ट्रेलर आफ्नो आधिकारिक फेसबुकमा साझेदार गर्दै प्रशंसा गरेका थिए । उनले अनमोल र आफूलाई दाजु–भाई समेत भने । त्यसको एक हप्तापछि अनमोलले पनि कमेन्ट गर्दै प्रदीपलाई धन्यवाद दिँदै फिल्म ‘लभ स्टेशन’ का लागि शुभकामना दिए । उनीहरुले एकअर्काप्रति देखाएको सम्मानले चलचित्रकर्मी मात्र होइन उनीहरुका प्रशंसकहरु पनि दंग छन् ।

चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ स्टेशन’ को पखाईमा रहेका उनले हालै एक भिडियो अन्तर्वार्ताको क्रममा ढिलोचाँडो भए पनि अनमोल र आफू एउटै फिल्ममा देखिने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मसँग एउटा कन्सेप्ट छ, जसमा दुई एक्टर चाहिन्छ । अहिले हामी दुबै आ९आफ्नो काममा व्यस्त छौं त्यसले भेट हुन पाएको छैन । चाँडै यस विषयमा कुरा हुनेछ ।’

आफूहरुबीच स्वच्छ प्रतिस्पर्धा रहेको बताउँदै उनले अनमोल र आफूलाई एउटै फिल्ममा हेर्ने चाहना दर्शकहरुको पनि रहेको सुनाए । उनी भन्छन्, ‘भेट एकदम कम भएको छ तर अनमोल र मबीचमा एकदमै राम्रो ‘फ्रेण्डसिप’ छ । हामीहरु एकअर्काका प्रशंसक हौं । हामी दुबै एउटै फिल्ममा आउनु पर्छ भन्नेमा म मानसिक रुपमा तयार छु र उहाँ पनि सकारात्मक हुनुहुन्छ होला ।’

नेपाली फिल्मका दुई समकालिन सुपरस्टार एउटै फिल्ममा देखिएको खण्डमा समग्र फिल्म क्षेत्रका लागि ठूलो खुसीको कुरा हुनेछ । कामना गरौं, अनमोल र प्रदीपबीच चाँडै सहकार्य होस् ।