Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले नगरवासीको चाहना र आवश्यकता अनुसार काम गर्न सकेन भनेर दिनदिनै आलोचना र विरोध भइरहँदा पनि सुध्रिने कुनै संकेत देखिएको छैन । बेतिथी घटनुको सट्टा झन बढेकाबढ्यै छन भनेर महानगरवासीले गुनासो गरिरहेका छन ।

महानगरपालिकाको वडा नम्बर २४ स्थित पुरातात्विक क्षेत्रमामा मापदण्ड विपरीत निर्माण भइरहेको महर्जन विजनेश एशोसियटले बनाइरहेको भवनको निर्माण कार्य रोक्नु भन्ने सर्वोच्च अदालतको आदेशलाई समेत महानगरपालिकाले कार्यान्वयन गर्न अवरोध गरेको छ ।
पुरातात्विक क्षेत्र मा मापदण्ड विपरीत निर्माण भएका वा भइरहेका संरचना भत्काउने जिम्मा काठमान्डौं विकास प्राधिकरण को हो ।

प्राधिकरणलाई यस्ता मापदण्ड विपरीतका संरचनाहरूको लामै सूची उपलब्ध गराएको छ र पटक पटक ध्यानाकार्षण भन्दै पत्राचार पनि गर्दै आएको छ । तर प्राधिकरणका आयुक्त भाइकाजी तिवारी विभिन्न निकायबाट यस्ता पत्र वा उजुरीहरू आउदा एकदमै खुसी हुने गरेको प्राधिकरणकै कर्मचारी बताउछन । तिवारी खुसी हुनुको कारण मापदण्ड विपरीत बनेका र बनिरहेका संरचनाहरूमाथि कारवाही गर्न पाइने भयो भनेर होइन । त्यस्ता पत्र र उजुरीलाई कमाइखाने स्रोतको रुपमा लिने गरेको तिवारीमाथि आरोप लाग्दै आएको छ ।

महर्जन विजनेशले हनुमान ढोका दरबार क्षेत्र निकट पुरातात्विक क्षेत्रमा बनाइरहेको विजनेश कम्प्लेक्सको सन्दर्भमा पनि भाइकाजीले साँठगाँठ गरेर मापदण्ड मिच्ने महर्जन समूहलाई संरक्षण गरेको स्थानीयको भनाई छ । पुरातत्व विभागले प्राधिकरणलाई कारबाही गर्न पत्र लेख्दा समेत भाइकाजी तिवारीले उक्तपत्र लुकाएर राखेको प्राधिकरणमै चर्चा हुने गरेको छ । स्रोतका अनुसार, न्युरोडको उक्त विजनेश कम्प्लेक्स निर्माण भइसकेपछि भाइकाजीलाई चैथो तल्लामा एउटा सटर दिने भित्री सहमति भएको पनि खुल्नमा आएको छ ।

तिवारीले गरेका अनियमितताको हिसाब गर्ने हो भने लामै फेहरिस्त हुने बताउदै प्राधिकरणका एक कर्मचारीले भ्रष्टाचारप्रति यति धेरै मोह भएको मानिस जीवनमा आफूले कहिल्यै नदेखेको गुनासो गरे । महानगरपालिकाका मेयर विद्यासुन्दरलाई पनि वशमा पारेर राख्ने तिवारीपछि अर्का कर्मचारी हुन महानगरका ज्ञानेन्द्र कार्की । यिनी महानगरका प्रशासन प्रमुख हुन् ।

महानगरमा लामो समयदेखि कमिशनमा मस्त रहेर जम्मा गरेको रकमले काठमाण्डौंको कोटेश्वरमा आलिशान महल बनाएर बसेका छन । यिनको महल नजिक भै हिंड्ने जो कोहीले पनि आलिशान महलको एकछिन प्रशंसा गर्न करै लाग्छ । कुनै अर्बपति व्यापारीको जस्तो लाग्ने उनको महल महानगरका एक सामान्य अधिकृतको हो भन्दा पत्याउन मुस्किल हुने गरेको कोटेश्वरवासीको भनाई छ ।

महानगरपालिकामा भ्रष्टाचारलाई मलजल गर्ने मुख्य पात्र कार्की नै भएको महानगरपालिकाका कर्मचारीहरू बताउछन । कार्कीको भ्रष्ट चरित्रका कारण अरु कर्मचारी पनि खुलेर भ्रष्टाचार गर्न प्रतिस्पर्धामा उत्रिने गरेको महानगरपालिका परिसरमा चर्चा हुने गरेको छ ।

अख्तियारदेखि सरकारका अनुसन्धानवाला निकायका अधिकारीहरूलाई चिल्लो घसेर जोगिदै आएका कार्की कानूनको चक्करमा एकदिन नराम्ररी फस्ने निश्चत भएको अन्य कर्मचारीको टिप्पणी छ । कार्कीले होर्डिङ्ग बोर्ड, सोलार लाइट, बस स्टाण्डका ठेकेदारबाट नियमित कमिसन खाने गरेको स्रोतको दावी छ ।

महानगरपालिका भाडामा बसेको जेडीए कम्प्लेक्समा समेत भाडा बापत प्रत्येक महिना कमिसन बुझ्ने गरेको खुलेको छ । कार्कीले परिवार र आफन्तका लागि न्युरोडमा कहिल्यै पनि पैसा तिरेर सपिङ गर्नुपर्दैन । उनको सपिङको बिल महानगरपालिकाका विभिन्न ठेकेदार कम्पनीले तिरिदिने गरेको पनि खुल्नमा आएको छ । ती ठेकेदार कम्पनीहरूलाई महानगरका ठेक्कापट्टा दिन मद्दत गर्दै आएकाले उनलाई फ्री सपिङको सुविधा प्राप्त भएको न्युरोडका व्यापारीबाट सजिलै बुझ्न सकिन्छ ।

महानगरको राजस्वमा समेत जति उठ्नु पर्ने त्यो छुट गरे बापत मिलाएर कमिसन असुल्ने गरेको कार्कीलाई आरोप लाग्दै आएको छ । नक्सा तथा भवन निर्माण महाशाखाबाट समेत निर्माण सम्पन्न गरेको गलत रिपोर्ट बनाइ पैसा खाने कार्की मेयर विद्या सुन्दरका प्रिय कर्मचारी बनेका छन । (साँघु साप्ताहिक)