Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । मुस्लिम आयोगका अध्यक्षका लागि सिफारिस भएका समीम अन्सारीको फरक–फरक जन्म मिति भएका नागरिकता भेटिएका छन् ।

संघीय संसदको सुनुवाई समितिको बैठकले अन्सारीविरुद्ध नागरिकता, शैक्षिक योग्यता प्रमाणपत्र, पार्टी सदस्यताका विषयमा छानबिन थाल्ने निर्णय गरेपछि दुई वटा जन्ममिति भेटिएका हुन् ।

उनले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयमा रहेको अभिलेखमा २०३७ साल जन्ममिति भेटिएको प्रशासन स्रोतले जनाएको छ । तर, उनको नागरिकतामा २०३० साल उल्लेख छ । आयोगको अध्यक्ष हुनका लागि संवैधानिक परिषद्ले सिफारिस गर्ने समयमा ४५ वर्ष नाघेको हुनुपर्ने संवैधानिक प्रावधान छ ।

अन्सारीको २०७४ सालमा भएको निर्वाचनमा समानुपातिक बन्दसूचीमासमेत नाम रहेको थियो । तत्कालीन नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फ उनको नाम निर्वाचन आयोगमा दर्ता भएको थियो । पार्टीको बन्दसूचीमा नाम राखिएका व्यक्तिको नाम सिफारिस गर्न पाइन्छ पाइँदैन भन्ने अर्को प्रश्न उठेको छ ।

अन्सारीलगायतका आयोग अध्यक्षलाई बिहिबार संसदीय सुनुवाइका लागि बोलाइएको थियो । अन्सारीका विषयमा छानबिन थालेपछि सुनुवाई आइतबार बिहान सारिएको संघीय संसद सचिवालयले जनाएको छ । संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरिएका अन्सारीविरुद्ध गम्भीर उजुरी परेको भन्दै थप छानबिन थाल्ने सुनुवाई समितिले मंगलबार निर्णय गरेको थियो । समितिले अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्रलगायतका विषयमा छानबिन थालिसकेको छ ।