3 - 3Shares
काठमाडौं । खारेजीमा परेको अष्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइबिटी) कलेजमा नर्सिङका विद्यार्थीहरुलाई पठाई अलपत्र पार्ने केही एजुकेशन कन्सलटेन्सीहरु गल्ती ठाकछोप गर्न प्रचारबाजीमा उत्रिएका छन् ।
एक हजार भन्दा बढि विद्यार्थीहरुलाई एआईबिटीमा पठाई अलपत्र पार्ने विभिन्न कन्सलटेन्सीहरुलाई शिक्षा मन्त्रालयको अनुरोधमा प्रहरीले कारबाही प्रक्रिया अगाडी बढाउन लागेपछि उनीहरु अहिले भने विद्यार्थीहरुसँग निरन्तर सम्पर्कमा रहिरहेको र अष्ट्रेलियास्थित सम्पर्क कार्यालयमा विद्यार्थीलाई सम्पर्क राख्न भन्दै सामाजिक सञ्जालमार्फत सूचना जारी गर्न थालेका छन् ।
कति कन्सलटेन्सीले कति विद्यार्थी एआईबिटीमा पठाएका छन् ?, त्यसको आधिकारीक विवरण भने मन्त्रालयले मागिसकेको छ ।
महानगरिय अपराध महाशाखाका एक अधिकारी भन्छन्–‘विद्यार्थी ठगिएको विषयमा जानकारी चाहिं आएको छ । तर, मन्त्रालयले कन्सलटेन्सीहरुले आफ्नै तरिकाले समस्या समाधान गर्ने बताएपनि सार्वजनिक चासो र ठगीको विषय भएकाे हुँदा हामीले पनि गोप्य रुपमा अनुसन्धान थालेको छाैं ।’
एआईवीटी प्रकरणपछि अहिले चौतर्फी रुपमा विद्यार्थीबाटै लुटको शैलीमा पैसा असुल्ने नियतका कन्सल्टेन्सीहरुलाई कारवाही गर्नुपर्ने माग बढेको छ ।
विद्यार्थीहरुले आफूलाई अष्ट्रेलिया पठाउने कन्सलटेन्सीहरुसँग समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दा उल्टै कन्सलटेन्सीका सञ्चालकहरुले धम्क्याउने गरेको समाचार बाहिर आएपछि कन्सलटेन्सीहरुले पनि सावधानी अपनाउँदै आफूले पठाएका विद्यार्थी र अभिभावकसँग सम्पर्क गर्न थालेका छन् ।
अष्ट्रेलियामा दर्ता नै नभएको एआईबिटीमा नेपाली विद्यार्थीहरुलाई पठाउने मर्सी एजुकेशन र कंगारु एजुकेशन फाउण्डेसन यसअघि पनि कालो सूचीमा परेका थिए ।
चार वर्ष अघि अष्ट्रेलियाबाट प्रकाशित हुने राष्ट्रिय दैनिक ‘द अष्ट्रेलियन’ पत्रिकाले कंगारु एजुकेशन फाउण्डेशन र ग्लोबल भिलेज इन्टरनेशनल एजुकेशन कालो सूचीमा परेको भन्दै समाचार प्रकाशित गरेको थियो ।
समाचारमा भनिएको थियो–‘अष्ट्रेलियाका स्थानीय कलेजहरुबाट पहिले नै कालो सूचीमा रहेका यी कन्सलट्यान्सीहरु पार्टनरसिप रद्द भएपनि विभिन्न मिडियामार्फत शतप्रतिशत भिजा उपलब्ध गराउने भन्दै विज्ञापन गरी विद्यार्थीलाई भ्रम छरेका छन् ।’
यस्ता कन्सलटेन्सीहरुले नक्कली बैंक स्टेटमेन्ट बनाउने गरेकै कारण अष्ट्रेलियाले सयौं नेपाली विद्यार्थीको भिसा रद्द गरेर अलपत्र बनाएको थियो भने कंगारुलाई अष्ट्रेलियन दूताबासले शिक्षा मन्त्रालयलाई पत्र काटी कालो सूचिमा समेत राख्न लगाएको थियो ।
शैक्षिक परामर्श प्रदान गर्ने नाममा अवैध तरिकाबाट मानव तस्करी, नक्कली कागजपत्रका आधारमा बैंक ग्यारेन्टी बनाउने तथा हुन्डीको कारोबार र कीर्ते धन्दा सञ्चालन गर्दै आएका ठूला कन्सलटेन्सीहरु अहिले प्रहरीको निगरानीमा परेका छन् ।