Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई घरजग्गामा जाने कर्जालाई नियन्त्रण गर्न कठोर नीति लिए पनि घरजग्गाको भाउ बढ्ने क्रम रोकिएको छैन । आज १० लाख रुपैयाँ आना भनेको जग्गा एक सातापछि जाँदा १० लाख ५० हजार रुपैयाँ भन्ने गरेका छन् ।

काठमाडौं उपत्याकामा मात्र होइन, जिल्लाका मुख्य शहरी इलाकामा घर तथा जग्गाको मूल्य दिन दुई गुणा रात चौगुणका दरले बढिरहेको छ । बैंकले घरजग्गामा लगानी गर्न कम गरे पनि यति बिघ्न किन बढ्यो घरजग्गाको भाउ ? भन्ने प्रश्नमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा भन्छन्– ‘यो सबै काम सहकारीले गरेको हो ।’ सहकारीमा वैधानिक तथा अवैधानिक रुपमा रकम रहने गरेको र त्यही रकम जग्गामा लगानी हुने गरेका कारण जग्गाको भाउ अचाक्ली बढेको उनको भनाइ छ ।

विदेशमा गएर दुःखको काम गर्दै हाम्रा दाजुभाई– दिदीबहिनीले कमाएर ल्याएको पैसाका कारण घरजग्गाको मूल्य आकाशिएको अर्काथरिको तर्क छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा चार खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिएको छ । समग्रमा हेर्ने हो भने पछिल्लो समय प्रत्येक घरबाट एक जना विदेशमा गएको देखिन्छ । विदेशमा बसेर कमाएको पैसा नेपाल ल्याएर घरजग्गामै लगानी गर्छन् । उद्योग व्यवसाय गर्नुभन्दा घरजग्गामै लगानी गर्दा फाइदा हुने गरेकाले घरजग्गामै लगानी गर्ने तर्क उनीहरुको छ ।

विदेशमा गएकाले ल्याएको पैसाले मात्र यति विघ्न घरजग्गाको भाउ नबढेको तर्क एकथरीले गर्दै आएका छन् । घरजग्गाको भाउ बढनुको भित्री रहस्य बैंक तथा वित्तीय संस्थाले अनियन्त्रित रुपमा घरजग्गा लगानी गरेकै कारणले नै हो । नेपाल नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ६ महिना (पुससम्म) मा पौने २ खर्ब रुपैयाँ घरजग्गामा लगानी भएको छ ।

त्यसमा सहकारीबाट भएको लगानी गणना भएको छैन् । बैंक तथा वित्तीय संस्था, रेमिट्यान्सलगायतबाट आउने धेरैजसो रकम घर बनाउन र जग्गा किन्नमै खर्च हुने गरेको छ । जुसले जति लगानी गरेको भए पनि जग्गाको भाउ आकासिने क्रम रोकिएको छैन् । माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा भन्छन्– ‘नेपालमा रहेको सानो घरजग्गाको टुक्रा बिक्री गरेर अमेरिकमा सुविधा सम्पन्न ठाउँमा घर किन्न सकिने अवस्था छ ।’ अमेरिकामा भन्दा नेपालमा जग्गाको भाउ महंगो भएको उनको भनाइको आशय हो ।

बैंक तथा वित्तीय संस्था, सहकारी, शेयर बिक्री र रेमिट्यान्सलगायतको लगानी बढाउँदा घरजग्गाको भाउ अकाशिएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले घरजग्गा तथा आवासीय (प्रतिग्राहक १ करोडभन्दा कम) कर्जा लगानी गरेका छन् । पछिल्लो समय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा प्रवाह ऋण बढी हुन थालेको संकेत दिएको छ । तर, पनि बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ऋण दिन छाडेका छैनन् ।

बैंक तथा वित्तीय संस्थाले बढी ऋण प्रवाह गरेकै कारण घरजग्गाको भाउ बढेको राष्ट्र बैंकका एक पूर्वकार्यकारी निर्देशकले बताए । उनले भने अन्य ठाउँमा लगानी गर्नुभन्दा बढी सुरक्षित हुने ठाउँ नै घरजग्गा भएकाले बैंक तथा वित्तीय संस्थाले पनि त्यही क्षेत्रमा लगानी गर्न पुगेका हुन् ।

बैंकहरुले घरजग्गामा लगानी बढाएका कारण लगानीयोग्य पुँजी (तरलता) को अभाव भएको छ । भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीका कारण बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न सकेका थिएनन् । वातावरणमा सुधार आएपछि उनीहरुले बढी ऋण प्रवाह गर्न थालेका हुन् ।

बैंकहरुले घरजग्गामा बढी लगानी गर्न थालेपछि राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाइ गर्ने गरी मौद्रिक नीति ल्याएको थियो । उसले शेयर र घरजग्गा कर्जामा कडाइ गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति ल्याएको थियो । तर, त्यस्तो नीतिलाई प्रवाह नगरी बैंकहरुले घरजग्गामा लगानी बढाएका छन् ।

नयाँ मौद्रिक नीतिमार्फत सरकारले घरजग्गा कारोबारमा जाने कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले एक करोड रुपैयाँसम्मको व्यक्तिगत आवास कर्जालाई यथावत राखे पनि व्यापारिक प्रयोजनको रियलस्टेटमा भने धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्र कर्जा दिन पाउने व्यवस्था गरेको छ । यसअघि आवासीय रियलस्टेट कर्जामा धितो मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा दिन पाइने नीति थियो ।

बैंक तथा वित्तीय संस्थाले आवासीय रियलस्टेट कर्जा अधिकतम एक करोड रुपैयाँसम्म दिन पाउँछन् । रियलस्टेटमा मात्र कुल १५ प्रतिशतभन्दा बढी कर्जा लगानी गर्न नपाइने नियम छ । तर, पनि बैंकहरुले आन्तरिक रुपमा मिलाएर घरजग्गामा लगानी बढाइरहेका छन् ।