Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दुई महिना लगाएर अध्ययन गरेको पाँचतारे होटल तारागाउँ रिजेन्सी (हायात) छानबिनसम्वन्धि अध्ययन प्रतिवेदन तयार पारेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितको उपसमितिले गरेको उक्त अध्ययनको प्रतिवेदन दुई साता अगाडि नै समितिमा पेश गर्ने कार्यक्रम भएपनि अन्तिम प्रतिवेदन तयार नभएको र के निर्देशन सिफारिश गर्ने भन्ने विषयमा संसदहरुबीच नै टुङ्गो नलाग्दा तयार भएको प्रतिवेदन मूल समितिमा पेश भएको छैन ।

मूल समितिले उपसमितिले दिएकै सुझावाई निर्देशन दिने भएकोेले पनि संसदहरुबीच एउटै राय बनाएर निर्देशन राख्ने प्रयास भइरहेको छ । उपसमितिमा होटललमा दिने निर्देशन दुईतिन प्रकारको राख्ने विषयमा बहस चलेको उल्लेख छ । फितलो प्रकृतिको धेरैवटा भन्दा गहकिलो र प्रभावित हुने एउदै निर्देशन काफि हुने भन्दै बहस पनि उपसमिति सदस्यबीचमै भइरहेको पनि आर्थिक न्युजलाई प्राप्त सूचनामा उल्लेख छ ।

तारागाउँ होटलले सरकारी सम्पतिको दुरुपयोग गरेको, वर्षोसम्म नाफा नदिएको, शेयर संरचना घटाउँदै होटले आफ्नो स्वामित्व मात्रै बढाएकोसहितको विषयमा आर्थिक न्युजले पटकपटक समाचार सार्वजनिक गरिसकेको छ । आर्थिक न्युजलाई प्राप्त पछिल्लो स्रोतका अनुसार होटलले २०४९ सालमा सरकारसँग गरेको सम्झौता अनुसार तारागाँउ रिजेन्सी होटलले १५० रोपनी जग्गा भाडामा लिएको छ । सो भाडामा लिएको जग्गाको भाडा सम्झौता भंग गर्ने गरि निर्देशन राखेर उपसमितिले मूल समितिमा प्रतिवेदन पेश गर्ने भएको छ ।

स्रोतका अनुसार जग्गा भाडा सम्झौता खारेज गरेको अवस्थामा नयाँ सम्झौता गरेर चलनचल्तीको मूल्यमा भाडा तय गर्न सकिने र सो होटललाई पनि जग्गाको मूल्यांकन गरेर समयानुकुल भाडा बुझाउने काम गराउन सकिन्छ । यो सम्झौता भंग गराउन सके सरकारले चाहेको बेलामा जतिबेला पनि भाडाको जग्गा फिर्ता लिन सक्ने प्रावधान राख्न सकिने उल्लेख छ ।

समिति स्रोतका अनुसार हायात होटलले चर्चेको ३०५ रोपनी क्षेत्रफको जग्गामा थप संरचना बनाउन दिने, यसका लागि उद्देश्य अनुसार होटलले अन्तर्राष्ट्रिय विभिन्न जातजतिसहिको सांस्कृतिक केन्द्र बनाउनुपर्नेसहितको सर्तमा काम गर्न निर्देशन पनि आउने भएको छ । उपसमितिले तयार पारेको प्रतिवेदन मूल समितिमा छलफलमा आउने र आवश्यक निर्देशनसहित प्रतिवेदन सार्वजनिक हुने पनि समितिकै एक सदस्यले आर्थिक न्युजलाई जानकारी दिएका छन् ।

करिब २४ अर्बको सरकारी स्वामित्व एकलौटी हत्याउने प्रयास गरिरहेको तारागाउँ होटलमा शेयरको मेजोरिटी एसियाली विकास बैंक अन्तर्गतको आइसीटीसीको छ । यो कम्पनीको नेपालमा निकै धेरै क्षेत्र लगानी छ । हायातमा सरकारले हाल हाल्दा यसको स्वामित्व गुम्ने वा प्रश्न उठ्ने भएको छ । यसलाई बैधानिक तरिकाबाट चलाउन र सरकारको स्वामित्व जोगाउन सरकारले संसदीय समिति गठन गरेको हो ।

यसभन्दा अगाडि एक्लै लडिरहेको पर्यटन मन्त्रालय अन्तर्गतकै तारागाँउ विकास समितिले हो होटलसँग गरेको सम्झौताको खारेजी, होटलसँगको जग्गा भाडा रद्द गर्ने र ४९ मा होटललाई प्रति रोपनी १० लाखका दरले बिक्री गरेर दिएको १५० रोपनी जग्गा र त्यस वापत सरकारले गरेको १७ करोड रुपैयाँको शेयर लगानी पनि रद्द गर्नुपर्ने माग तारागाँउ विकास समितिको छ ।

संसदीय समितिले यस विषयमा मिहिन अध्ययन गरेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । उपसमितिले यथेस्ष्ट प्रमाण र दस्तावेज राखेर सोही प्रमाणका आधारमा आधिकारीक निष्कर्ष निकालेको पनि उल्लेख छ । तारागाँउ होटल अन्तर्राष्ट्रिय चेनको हायात रिजेन्सी हो । यसको सञ्चालक भारतीय नागरिक राधेश्याम सराफसहितका व्यक्ति छन् । होटल सञ्चालक समूहले आकर्षक अफर ल्याउने र छानविन समितिलाई प्रभाव पारेका कारण पनि यसको छानविन टालटुले हुने हो कि भन्ने आशंका पनि गरिएको छ । तर यो समितिलाई निष्पक्ष छानविनको दबाब भने परेको छ ।

यो होटलले ३०५ रोपनी जग्गासहितको सबै स्वामित्व हत्याउन खोज्ने तारागाँउ रिजेन्सी होटलमाथि संसदीय छानविन सुरु गरेको हो । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पाँच सदस्यीय उपसमिति बनाएरै यो होटलको विषयमा आवश्यक छानविन गरेको हो ।

होटलले २५ वर्षदेखि ओगटेको सरकारी स्वामित्वको ताराँगाउँ विकास समिति अन्तर्गत भएको लगानी, भौतिक चल अचल सम्मतिसहितको सबै विषयमा समितिले छानविन गरेको उल्लेख छ । सांसद अग्निप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन भएर यो होटलको छानविन भएको हो ।

समिति सदस्यमा नारादमुनि राना, पुष्पा भुसाल, प्रेमबहादुर तुलाचन र सानु सिवा रहेका छन्। समितिले सरकारी जग्गा उपभोग गरेको र बर्सौँसम्म प्रतिफल नदिएको तथा सरकारी लगानी घट्दै गएको लगायतका विषयमा तारा गाउँ रिजेन्सी (हायात)होटलको विषयमा आवश्यक अध्ययन गर्ने र प्रतिवेदन बुझाउने कार्यगत सर्त पाएको थियो ।