Spread the love
  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । विमानस्थल प्रयोग बापतको शुल्क नतिरेपछि ग्राउन्डेड गरिएको सौर्य एयरलाइन्स अन्ततः ६२ करोड रुपैयाँमा बिक्री भएको छ ।

गत पुस २० देखि उडान बन्द भएको सौर्य एयरलाइन्स भारतीय कुबेर समूहको क्लव वान कम्पनीले किनेको हो । एयरलाइन्सले यसअघि चीनको एक कम्पनीसँग बिक्री प्रक्रिया अघि बढाएको थियो । उक्त कम्पनीसँग कुरा नमिलेपछि भारतीय कम्पनीलाई ६२ करोड रुपैयाँमा कम्पनीको पूर्ण स्वामित्व बिक्री गरिएको हो ।

भारतीय कम्पनीले नेपाली व्यवसायीसँग साझेदारीमा कम्पनी खरिद गरेको सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार बिक्री प्रक्रियाको आवश्यक दस्तावेजमा हस्ताक्षर भइसकेको छ । रकम भुक्तानी बाँकी छ ।

चार वर्षअगाडि जेट इन्जिन विमानबाट आन्तरिक उडान थालेको यो कम्पनीले बजार विस्तार गर्न नसक्दा आर्थिक संकट भोग्दै आएको थियो । यससँग दुईवटा विमान छन् । ऋण चुक्ता नगरेको भन्दै गत पुस २७ मा सौर्य एयरलाइन्सको नाममा जनता बैंकले रकम भुक्तानीका लागि ३५ दिने सूचना समेत प्रकाशित गरेको थियो । नोक्सानी बढ्दै जाँदा कर्मचारीलाई तलब समेत खुवाउन सकिरहेको थिएन ।

कम्पनीले सिआरजे–२०० जहाजबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा नियमित उडान गर्दै आएको थियो । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेबापतको बक्यौता नतिरेपछि विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले विमान ग्राउन्डेड गराएका थिए ।

एयरलाइन्सले विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनु पर्छ । सोही बापत कम्पनीले विमानस्थललाई चार करोडभन्दा बढी रकम बुझाउन बाँकी छ । क्षेत्रीका अनुसार पेनाल्टी थप भएर अहिले यो रकम बढेको छ ।

कम्पनी जसले खरिद गरे पनि बक्यौता नबुझाएसम्म नछोडिने उनले बताएका छन् । भारतीय समूहले अप्रिल ४ बाट विमान नियमित उडान गर्ने योजना अघि सारेको छ ।