Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । त्रिभुवन विश्वविद्यालय आफू अन्तर्गतका क्याम्पसहरूमा २०७५ फागुन १४ गते स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन गर्ने घोषणाबाट पछाडि हटेको छ । यही कारणले गर्दा नै फागुन १४ गते आउन ८ दिन बाँकी हुँदा समेत त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनको समय तालिका सार्वजनिक गरेको छैन ।

विभिन्न कारणले तथा विद्यार्थी संगठनको असहमति तथा अवरोधका कारणले गर्दा हरेक २ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालपछि अहिलेसम्म हुन सकेको छैन । साविकको नेकपा एमाले निकट अनेरास्ववियू र माओवादीनिकट अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन गर्न चर्काे दबाब दिएर स्ववियू निर्वाचन गर्न आलटाल गरे चर्काे आन्दोलन गर्ने चेतावनी दिएपछि त्रिभुवन विश्वविद्यालयले २०७५ फागुन १४ गते स्ववियू निर्वाचन गर्ने घोषणा गरेको थियो ।

तर, कांग्रेसका कार्यकर्ता उपकुलपति तीर्थ खनियाँले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको प्रभावमा परेर २०७५ फागुन १४ गते स्ववियू निर्वाचन गर्ने त्रिविविको घोषणालाई उल्टाइदिएका छन् र स्ववियू निर्वाचनका सम्बन्धमा फेरि अन्योल उत्पन्न हुन गएको छ ।

साविक नेकपा एमाले निकट अनेरास्ववियू र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले मिलेर स्ववियू निर्वाचन लड्ने रणनीति बनाएपछि प्रमुख प्रतिपक्ष नेपाली कांंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले नराम्रो पराजय भोग्ने सम्भावना देखेर नेविसंघले आफ्नो महाधिवेशन हुन लागेको भन्दै २०७५ फागुन १४ गते हुने भनिएको स्ववियू निर्वाचनको विरोध गरेको थियो ।

प्रतिपक्ष कांग्रेसलाई चाकडी पु¥याउन र नेविसंघको स्वार्थ अनुसार त्रिविका उपकुलपति खनियाँले नियोजितरुपमा नै यही १४ गतेका लागि तोकिएको स्ववियू निर्वाचनलाई अन्योलको खाडलमा धकेलेको आरोप निर्वाचनको पक्षमा रहेका विद्यार्थीहरूको रहेको छ । (साँघु साप्ताहिक)