Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौँ । सामान्यतया एउटा सवस्टेशनको निर्माण सक्न कति समय लाग्ला ? नेपाल विद्युत् प्राधिकरणका अनुसार लगातार काम भयो भने बढीमा डेढ वर्ष । तर प्राधिकरणले नै निर्माण गरेको एक सवस्टेशन सम्पन्न गर्न करीब ११ वर्ष लागेको छ ।

सल्यान जिल्लाको शीतलपाटीमा रहेको ३३÷११ किलोभोल्ट क्षमताको सवस्टेशनको निर्माण सम्पन्न गर्न करीब ११ वर्ष लागेको प्राधिकरणले जनाएको छ । विसं २०६४ असार २५ गते निर्माण शुरु भएको सो सवस्टेशन शुक्रबार मात्रै औपचारिकरुपमा निर्माण सकिएको घोषणा भएको हो ।

सल्यान जिल्लाका तीन हजार र रुकुम पश्चिमका नौ हजार घरधुरीमा विद्युत् उपलब्ध गराउन महत्वपूर्ण मानिएको सवस्टेशन निर्माण हुन लामो समय लाग्दा स्थानीय विद्युत् उपभोक्ता समस्यामा परेका थिए ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार सो सवस्टेशनको उद्घाटन गर्नुभयो । सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ निर्माण शुरु भएको सवस्टेशनको निर्माणकर्ता श्री हरि निर्माण सेवा, राप्ती निर्मल निर्माण सेवा जेभी थियो ।

‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ भन्ने नेपाली उखान जस्तै सधैँ समस्यामा फस्दै आएको सो सवस्टेशनको निर्माण सम्पन्न गर्न प्राधिकरणले विशेष पहल गर्दै आएको र हाल आएर मात्र निर्माण सम्पन्न हुन सकेको कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।

नेपाल सरकार र प्राधिकरणको कूल रु दुई करोड ९३ लाख ५३ हजार ६६६ कूल लागत रहेको सो सवस्टेशन ठेक्का सम्झौता भएको मितिले डेढ वर्षमा सकिनुपर्ने थियो । तर ठेकेदारले तोकिएको समयमा काम नगर्दा सवस्टेशन निर्माण प्रक्रिया अवरुद्ध आएको थियो ।