Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । उपत्यकामा वार्षिक तीन लाख टन फोहोर उत्पादन हुन्छ । फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ । वर्षा लागेपछि त्यहाँ फोहोर फाल्न सकिने अवस्था छैन, तर त्यसको विकल्प अझै तयार भइसकेको छैन ।

सरकारले नुवाकोटको ककनी–२ र धादिङको धुनिबेसी–१ को बीचमा पर्ने बन्चरेडाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइट बनाउने निर्णय ०५१ मै गरेको थियो । तर, २४ वर्ष बितिसक्दा पनि त्यहाँ आवश्यक पूर्वाधार निर्माण भएको छैन ।

बन्चरेडाँडा ल्यान्डफिलसाइटको अवधारणात्मक प्रारूप (कन्सेप्चुअल डिजाइन) आर्थिक वर्ष ०५८/५९ मै बनेको थियो । जापान सहयोग नियोग (जाइका)ले बनाएको प्रारूपअनुसार ल्यान्डफिलसाइट निर्माण गर्न एक अर्ब ८६ करोड लाग्ने अनुमान गरिएको थियो । तर, समयमा आयोजना नबन्दा ०७१ को डिपिआरअनुसार साइट निर्माणको लागत दुई अर्ब ४० करोड पुगिसकेको छ ।

के–के भयो, के बाँकी ?

बन्चरेडाँडामा साइटका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण भइसकेको छ । प्राप्त १७९२ रोपनी जग्गामा तत्काल ल्यान्डफिलसाइट बनाउन सकिने समितिको प्रतिवेदनमा उल्लेख छ । तर, चलेटार क्षेत्रमा जग्गा अधिग्रहण, प्रवेश मार्ग अपग्रेड र डिपिआर तयार गर्न भने बाँकी छ । श्यामेखोल्सी क्षेत्रमा जग्गा प्राप्त भए पनि डिपिआर गर्न बाँकी छ भने सिठेगहिरो, चाँपेगहिरो, खाल्टेखेतमा जग्गा लिनै बाँकी छ ।

सडक विभागले सिसडोलदेखि बन्चरेडाँडासम्मको दुई किलोमिटर सडक विस्तार र कालोपत्रे गरिरहेको छ । बन्चरेडाँडामा आवश्यक पूर्वाधार निर्माणको जिम्मा लिएको सहरी विकास मन्त्रालयले यो साता टेन्डर आह्वान गर्दै छ । ‘ड्यामको डिजाइन रिभ्यु गर्न बाँकी छ । सम्भवतः यो साताभित्र टेन्डर आह्वान हुन्छ,’ सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले भने । निर्माणको काम १८ देखि २० महिनाभित्र सक्ने लक्ष्य छ ।

कामपाको काँधमा उपत्यकाको फोहोर

काठमाडौं उपत्यकाभित्रका दुई महानगर र १६ नगरपालिकामा उत्पादन हुने फोहोर व्यवस्थापन गर्ने जिम्मा काठमाडौं महानगरपालिकाले लिइरहेको छ । त्यसका लागि वार्षिक सात करोड ४५ लाख २० हजार रुपैयाँ खर्च हुने गरेको महानगरले जनाएको छ । ललितपुर महानगरपालिकाले वार्षिक करिब ६५ लाख ५७ हजार खर्चिन्छ । तर, अन्य नगरपालिकाले फोहोर व्यवस्थापनमा खर्च गर्दैनन् । ‘सिसडोल हामीले जिम्मा लिएपछि उपत्यकाको सबै फोहोर व्यवस्थापन गर्ने जिम्मा हाम्रो काँधमा छ । अब भने सबैले फोहोर व्यवस्थापनमा खर्च गर्ने गरी गृहकार्य भइरहेको छ,’ काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘भार हामीले मात्रै बोक्नुपर्छ भन्ने होइन ।

सबै मिलेर फोहोर व्यवस्थापन गर्नुपर्छ ।’ उनले वर्षा लागेपछि सिसडोलमा फोहोर फाल्न नसकिने र बन्चरेडाँडा पनि बनिनसक्ने देखिएको बताए । ‘सिसडोलको दक्षिणी भागमा फोहोर विसर्जन गर्न सकिन्छ कि भनेर हेरिरहेका छौँ,’ उनले भने, ‘बन्चरेडाँडा बर्खाअघि नै बन्लाजस्तो लागेको छैन । फोहोर त व्यवस्थापन गर्नैपर्छ ।’

फोहोर व्यवस्थापन खर्च

कामपाका अनुसार उपत्यकामा दैनिक ८५३ टन र वार्षिक तीन लाख ७० हजार ८० टन फोहोर उत्पादन हुन्छ । त्यसलाई बन्चरेडाँडामा व्यवस्थापन गर्न वार्षिक ८ करोड १० लाख खर्च हुने अनुमान उसले गरेको छ । सो रकम अन्य नगरपालिकाहरूले समेत व्यहोर्नुपर्ने कामपाको प्रस्ताव छ । जसका लागि कामपाका प्रमुख विद्यासुन्दर शाक्यको नेतृत्वमा उपत्यकाका सबै स्थानीयका प्रमुख सहभागी रहेको समितिसमेत बनाइएको प्रवक्ता डंगोलले बताए ।