Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । केही समय अघिदेखि ’लुट्न सके लुट…’ गीत निकै चर्चित भयो । जसमा भ्रष्टाचारले कुनै पनि क्षेत्रलाई नछोडेको भन्दै व्यंग्य गरिएको थियो ।

यसैबीच भ्रष्टाचार गर्न हुँदैन भनेर नैतिक पाठ पढाउने शैक्षिक संस्थाहरु पनि भ्रष्टाचारको जालोमा सबभन्दा धेरै जेलिएका समाचारहरु सार्वजनिक भइरहेका छन् ।

मुलुककै अग्रणी विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा विभिन्न बाहनामा करोडौं भ्रष्टाचार भएको खुलासा भएको छ । त्रिविका कर्मचारी र प्राध्यापाकहरुले खाने खाजादेखि उनीहरुका विभिन्न संघसंगठका कार्यक्रममा ओढाइने खादासमेत भ्रष्टाचार गरेको खुलासा भएको हो ।

कार्यक्रम, खाजाभत्ता, ओभरटाइम र भ्रमण भत्तालगायतको नाममा मात्रै करोडौंको भ्रष्टाचार हुने गरेको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि कार्यकारी परिषदका पदाधिकारी, विश्वविद्यालयअन्तर्गतका अन्य विभिन्न निकाय र कार्यालयका पदाधिकारी र प्राध्यापकहरुले हवाई यात्राबाट भ्रमण गर्दासमेत कमिसन खाने गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

आयोगले पदाधिकारीदेखि कर्मचारीलगायतले आ–आफ्ना संघ संगठनले आयोजना गरेको कार्यक्रममा व्यक्तिगत रुपमा सहभागी हुन् जाँदा खरिद गर्ने खादामा समेत त्रिविको कोषबाट दैनिक भ्रमण भत्ताका लागि सिफारिस गराएउने गरेको खुलेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं वार्षिक प्रतिवेदन ०७४–०७५ मा उल्लेख भएअनुसार प्राध्यापक–शिक्षकले साढे ५२ लाख २३ हजार एक सय ४२ र कर्मचारीले एक करोड १८ लाख ८१ हजार छ सय ८६ रुपैयाँ गरी जम्मा एक करोड ८९ लाख सात हजार चार सय ९० रुपैयाँ दैनिक भ्रमण भत्ताका नाममा नियमविपरित लिएको देखिएको छ ।

यस तथ्याकंले मात्रै पनि त्रिविमा भ्रष्टाचारको जालो कसरी बुनिएको छ भन्ने प्रष्ट भएको विज्ञहरु बताउँछन् । विभिन्न मन्त्रालयगत उजुरीहरुको संख्यामा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी १८.३२ प्रतिशत रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

जसमा संघीय मामिलासँग सम्बन्धित १८.०२ प्रतिशत, भूमिसम्बन्धी ६.४८ प्रतिशत, वनसम्बन्धि ४.४८ प्रतिशत, स्वास्थ्यसम्बन्धि ४.३७ प्रतिशत, गृहप्रशासनसम्बन्धि ४.१३ प्रतिशत उजुरी परेको तथ्याकंले देखाएको छ । यस तथ्याकंलाई हेर्दा अन्य क्षेत्रको तुलानामा सबभन्दा बढी भ्रष्टाचार हुने शिक्षा क्षेत्र नै भएको पुष्टी गरेको छ ।

विभिन्न संघसंगठन तथा त्रिविका आन्तरिक कार्यक्रममा जाँदा समेत नियम विपरित दैनिक भ्रमण भत्ता भुक्तानी लिएका उजुरीहरु थुप्रै भएको आयोगको प्रतिवेदनमा उल्लेख छ।

चन्दा र आर्थिक सहयोगमा पनि छुटेन भ्रष्टाचार
आयोगको प्रतिवेदनमा त्रिविले आर्थिक सहयोग तथा चन्दाका नाममा वितरण गरिएका खर्चहरुको सम्बन्धमा समेत अनियमितता भएको उजुरी परेको उल्लेख छ । यसमा खेलकुद, प्राज्ञिक प्रतियोगिताको नाममा खर्च वितरण गरिए पनि त्यो पारदर्शी नभएको भन्दै उजुरी परेको जनाइएको छ ।

यस विषयमा आयोगले त्रिवि आर्थिक व्यवस्थापन तथा संचयकोष सम्बन्धी नियम, २०५० मा कुनै पनि आर्थिक सहायता वा चन्दाका नाममा रकम वितरण गर्न पाउने प्रावधान छैन । तर, विश्वविद्यालयको सर्वोपरि हितका लागि के कस्तो व्यवस्था गर्नु उपयुक्त हुन्छ त्रिवि सभाले विचार गरी कानुनमै स्पष्ट व्यवस्था गर्नु भनेर उल्लेख गरिएको छ ।

यसरी गर्छन् भ्रष्टाचार
त्रिवि व्यवस्थापन संकायमा गठित अनुसन्धान समिति, एमफिल कार्यक्रम गभर्निङ बोर्ड, विद्यापरिषद स्थायी समिति, परीक्षा संचालन विषयसमिति र साधारण व्यवस्थापन विषय समितिलगायतका बैठक बसेको भनी देखाइएको केही मितिमा बैठकको माइन्युट नै नगरेको अनुसन्धानको क्रममा खुलेको आयगले जानकारी दिएको छ ।

एउटै कर्मचारीलाई प्रायः सबै समितिका बैठकमा उपस्थित भएको देखाइएको, बैठक भत्ता लिने व्यक्तिमध्येका केही व्यक्तिहरु बैठकमा उपस्थित नै नभई बैठक भत्ता वापत रकम भुक्तानी लिनेगरेको समेत पाइएको छ ।

त्यस्तै शिक्षाध्यक्षको कार्यालयको खाजा खर्चसम्बन्धी अनियमिततामा स्थायी समितिको बैठकमा उपस्थित नभएको दिनमा समेत काम गरेको देखाई खाजा खर्च भुक्तानी गरिएको छ ।

रजिष्ट्रारको कार्यालयले त झन काजमा खटेका, क्याबी विदा लिएका र दसैंको विदा लिएकाले कर्मचारीले कार्यालयमा हाजिर नै नभएको अवस्थामासमेत अतिरिक्त समय काम गरेको देखाई खाजा खर्च वापत झण्डै ८ लाख ९ हजार एक सय ७० रुपैयाँ हिनामिना गरेको पाइएको छ ।

त्यस्तै केन्द्रीय पुस्तकालयमासमेत सार्वजनिक विदाजस्तै शनिबार, दसैं, तहिारमा अतिरिक्त काम गरेको भन्दै र क्याबी विदा, घर विदा, पर्व विदालगायतको हाजिरीमा काज जनाइएको दिनको समेत अतिरिक्त सयम काम गरेको देखाई खाजा खर्च वापतमात्रै ८ लाख ९ जार एक सय ७० रुपैयाँ घोटाला गरेको पाइएको हो ।

शिक्षा जस्तो संवेदनशिल क्षेत्रमा आयोगले यस्ता अनियमितता हुन नदिन, खर्च लाग्ने कार्यलाई कडा अनुगमन र नियन्त्रण गर्न पत्राचार समेत गरेको छ ।

आयोगको २०७४(०७५ को प्रतिवेदनमा त्रिवि सेवा आयोगको कार्यालयका कर्मचारी दोहरो भुक्तानी लिएको उजुरी पर्नुदेखि रजिष्ट्रारको कार्यलय, लेखा परिक्षण महाशाखा, शिक्षाध्यक्षको कार्यालय, केन्द्रीय पुस्तकालयमा अतिरिक्त समय काम गरेको भनी खाजा खर्चबापत भत्ता भुक्तानीमा समेत अनियमतिता भएको उजुरी अख्तियारमा परेको छ ।

त्रिवि स्रोतका अनुसार उजुरी परेका केही मुद्दामा मात्र रकम असुलउपर भएको र अन्य विभिन्न बहानामा दोब्बर र तेब्बर रुपमा घोटाला भइरहेको छ । यस अतिरिक्त त्रिवि भवन निर्मण, वस्तु खरिदलगायतका शीर्षकमा समेत अत्यधिक अनियममिता भइरहेको उजुरीहरु परेको आयोगले जानकारी दिएको छ ।

त्रिविका रजिस्टार डिल्लीराम उप्रेती भने अहिलेसम्म यस्तो किसिमको भ्रष्टाचार भएको आफूलाई जानकारी नभएको भन्दै पन्छिन खोजे । उनले भने, ’यस्तो विषयमा भ्रष्टाचार वा घोटाला भएको मलाई जानकारी छैन । हामीलाई कुनै आयोगको पत्रसमेत प्राप्त भएको छैन ।’