Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । इलाका प्रहरी कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्मले गरेका काममा माथिल्लो निकायले जस लिन खोज्दा २ नम्बर प्रदेश प्रहरीका प्रमुख डीआइजी हरि पालप्रति मातहतका प्रमुखहरु असन्तुष्ट छन् ।

धनुषा प्रहरीले मिथिला नगरपालिका हरिहरपुर मगरटोलमा २०७५ फागुन २ मा रेश्मा भन्ने ११ बर्षीया दुतिया रसाइलीलाई बलात्कार पश्चात जलाएर हत्या गर्ने ह्याम्ली डनका रुपमा चिनिने निरन जर्घा मगरलाई पक्राउ गरेको थियो ।

मगरलाई धनुषा प्रहरीले २०७५ फागुन ६ मा पक्राउ गरी सोही दिन सार्वजनिक गर्ने तयारी गरिरहेको बेला प्रदेश प्रहरीको सक्रियतामा पक्राउ परेको समाचार अनलाइनहरुमा भाइरल भयो । धनुषा प्रहरीले दिउँसो बलात्कारी पक्राउ गरेकोबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन भन्दा अघि नै सबैतिर प्रदेश प्रहरीको सक्रियतामा निरज जर्घा पक्राउ परेको समाचार आइसकेको थियो । जुन समाचार प्रदेश प्रहरी प्रमुख पालले नै भाइरल बनाउन लगाएका थिए । भावी आइजीपी हुने धुनमा उनी जिल्ला प्रहरीले गरेको काम पनि आफैं गरेको प्रचार गराउने गरेका छन् ।

‘काम गर्ने कालु मकै खाने…’ भन्ने नेपाली उखान २ नम्बर प्रदेशका प्रहरी प्रमुख पालले गर्दैआएका छन् । धनुषा मात्र होइन, उनले २ नं प्रदेशका ८ वटै जिल्लामा यस्तै गर्न थालेपछि मातहतका अधिकारी उनको शैलीबाट रुष्ट छन् । चेन अफ कमाण्डका कारण कसैले मुख खोल्न नसके पनि पालको शैलीबाट उनीहरु हैरान छन् । जिल्लाले राम्रो काम गर्दा प्रदेश प्रहरी प्रमुख स्वतः सफल हुन्छ । तर डीआइजी पालले त्यो कुरा नबुझी जिल्लाले गरेको काममा पनि प्रदेश प्रहरीले गरेको भनेर आत्मप्रशंसा गर्न लगाउने गरेका छन् ।

यसैबीच, डीआइजी पाल र विवादित पूर्वसांसद ल्यारक्याल लामाको कनेक्सनबारे पनि धेरै कोणबाट प्रश्न उठ्न थालेको छ । डीआइजी पाल हरेक हप्ता शुक्रबार काठमाडौं आउँछन् । र, शनिबार लामाको बुढानीलकन्ठस्थित निवासमा जाने गर्दछन् । त्यहाँ घन्टौं बसेर उनी भोलिपल्ट आइतबार कार्यक्षेत्र फर्कने गरेका छन् ।
पछिल्लो समयमा ल्यारक्याल लामा सुनतस्करीमा सक्रिय भएको समाचार आउने गरेका छन् । लामा सुन तस्करीमा लागेको र २ नम्बर प्रदेशका प्रहरी प्रमुख उनको घरमा हरेक हप्ताको शनिबार जानुले पनि बाघ कराउनु र बाख्रो हराउनु जस्तै संयोगमात्र त मान्न नसकिने चर्चा प्रहरीभित्रै सुरु भएको छ ।

नेपालमा तस्करीको माध्यमबाट दुवई र चीनबाट भित्रिएको सुन भारतमा जाने गरेको छ । २ नम्बर प्रदेशका सबै जिल्ला भारतसँग जोडिएकाले ती जिल्लाबाट सुन भारत पठाउनका लागि कनेक्सन मिलाउन पनि ल्यारक्यालले घरमै डीआइजी बोलाउने गरेको आशंका प्रहरीभित्रै हुन थालेको छ ।

पाल २ नम्बर प्रदेशमा सरुवा हुनासाथ डीएसपी सन्तोष खड्कालाई पनि लगेका थिए । खड्का हाल एसपीमा बढुवा भएपछि पनि २ नम्बर प्रदेशमै पदस्थापन भएका छन् । एसपी खड्का डीआइजी पालका घुमुवा हुन् । उनलाई ८ वटै जिल्लाको घुमुवाका रुपमा परिचालन गरिएको छ । पाल धनुषाको एसपी हुँदा खड्का मुद्दाका इन्स्पेक्टरका अलावा घुमुवाका रुपमा नाका नाकाबाट असुली गर्ने विश्वासपात्र थिए ।
(साँघु साप्ताहिक)