Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको १ सय १६ किलोमिटर सडकमा रु २ हजार ३ सय ५० भाडा तिर्नुपर्दा यात्रु हैरान भएका छन् ।

यात्रु ठाउँठाउँमा झनुपर्ने बाध्यताले झन् सास्ती थपिएको छ । लामो समयपछि जाजरकोट–डोल्पा सडकखण्डको ‘ट्रयाक’ खुलेसँगै सो सडकका यात्रु चर्को भाडाको मारमा परेका छन् । जाजरकोट सदरमुकामदेखि तल्लुसम्म रु ७००, रुकुमको अनाहदेखि डोल्पाको करवगाडसम्म रु ७००, करवगाडदेखि खदाङसम्म रु १५०, खदाङबाट–त्रिपुराकोटसम्म रु ४०० र सुपानीदेखि दुनैसम्म रु ४०० तिर्दा यात्रु हैरान भएका हुन् ।

दैनिक चर्को भाडाले यात्रु ठगिँदासमेत प्रशासन मुकदर्शक बनेको जाजरकोट नलगाड नगरपालिका यात्रु बद्री पन्तले बताए । जोखिमपूर्ण यात्रा, त्यसमा पनि छतमा राखेर यात्रु जथाभावी चलाउँदा कतिखेर दुर्घटना पर्ने हो थाहा नभएको पन्तको भनाइ थियो ।

आफू खुशी भाडा उठाउने र टिकट पनि यात्रुलाई उपलब्ध नगराउने पाइएको डोल्पा नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिए ।

चर्को भाडा लिएको भन्दै र यात्रु जथाभावी राखेको भन्दै जिल्ला प्रशासन कार्यालय डोल्पाले कडाइ गर्न थालेपछि जीप चालक आन्दोलनमा उत्रिएका छन् । जाजरकोट–डोल्पा सडकको धेरै ठाउँमा प्रहरी चौकी नहुँदा पनि यात्रु चर्को भाडाको मारमा परेको बताइएको छ ।