Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । उपत्यकाको सवारी जाममा उत्तम साधन मानिएको टुटल र पठाओले अहिलेसम्मकै कर तिर्नुपर्ने भएको छ । राइड–सेयरिङ एपबाट सञ्चालन हुने यातायात सेवा प्रदायक कम्पनी टुटल र पठाओलाई करको दायरमा ल्याउन सरकारले काम अघि बढाएको हो ।

केही समयअघि ट्राफिक प्रहरीले यी कम्पनीमा आबद्ध मोटरसाइकललाई सञ्चालनमा रोक लगाएपछि चर्चामा आएको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियम नभए नियम बनाएरै भए पनि सञ्चालन गर्न निर्देशन दिएका थिए । त्यसलगत्तै सम्बन्धित निकायले यससम्बन्धी नियम बनाउन जुटेका थिए । आन्तरिक राजश्व विभागले यी कम्पनीहरूबाट भ्याट र आयकर कसरी निर्धारण गर्ने भन्ने विषयमा अहिले अनुसन्धान गरिरहेको छ ।

दुवै कम्पनीले तिर्नुपर्ने कर उनीहरूले गर्ने कारोबारको आधारमा निर्धाण गर्न लागिएको आन्तरिक राजश्व विभाग प्रवक्ता यज्ञप्रसाद ढुंगेलले बताए । अहिले भइरहेको कारोबार र योभन्दा पहिले भएको कारोबारमा समेत कर लगाउने तयारी विभागले गरेको छ । ‘दुवै कम्पनीहरूलाई आयकरको दायरामा ल्याउँदै उनीहरूको करको दर निर्धारण गर्ने काम १० दिन भित्र तय गरिसक्छौं’, उनले भने, ‘दुवै कम्पनी स्थापना यता ग्राहकलाई सेवा दिँदा उठाएको भ्याट तथा उनीहरूको आयमा लाग्ने आयकर निर्धारणका लागि अनुसन्धान भइरहेको छ । अब धेरै दिन लाग्दैन ।’ ति कम्पनीहरूले दर्ता हुन आउने मोटरसाइकल सवारी धनीबाट निश्चित रकम लिने गरेका थिए । तर, उनीहरूले सरकारी कुनै पनि निकायलाई आयकर तिर्दैन थिए ।

जसका कारण यस्ता कम्पनीलाई कसरी नियमन गर्ने र व्यवस्थित बनाउने भन्नेमा बहस भएको थियो । टुटलले स्थायी लेखा नम्बर प्यानका भरमा मात्रै व्यवसाय सुरु गरे पनि यात्रुसँग १३ प्रतिशत भ्याट असुल्दै आएको थियो । राइड–सेयरिङ एपका भरमा सञ्चालित यो व्यवसायमाथि प्रतिबन्ध लगाउने तयारी गरेपछि कर नतिरेको विषय सार्वजनिक भएको थियो । त्यसपछि विभागले अनुसन्धान गरिरहेको हो । टुटलको सञ्चालक कम्पनी हाइपर लुक्स नेपाल प्यानमा दर्ता भए पनि भ्याटमा दर्ता भएको छैन ।

टुटलले सन् २०१७ जनवरीदेखि २०१८ जुलाईसम्म करिब १९ महिनासम्म भ्याट शीर्षकमा उपभोक्ताबाट रकम उठाएको थियो । हाइपरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले भ्याट उठाउने विषयमा पर्याप्त जानकारी नहुँदा यस्तो हुन गएको बताउँदै आएका छन् ।

टुटल मोटरसाइकलमा यात्रु बोक्ने सेवा हो । यो कम्पनी रजिस्ट्रारको कार्यालयमा हाइपर लुक्स नेपाल कम्पनी प्रालिका नाममा दर्ता छ । दुई वर्षअघि सेवा सुरु गरेको टुटलसँग हाल १२ हजारभन्दा धेरै राइडर छन् । पूर्णकालीन मोटरसाइकल चालकले मासिक ५० देखि ६० हजार रुपैयाँसम्म कमाइरहेको कम्पनीले दाबी गर्दै आएको छ ।