Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । मानिसका लागि कुनै महिना विशेष हुन सक्छ । तर संयोगै–संयोग नहुन सक्छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीका लागि भने फागुन महिना विशेषसँगै संयोग–संयोग बनेर आउने गर्छ ।

फागुन महिना प्रधानमन्त्री केपी ओलीका लागि विशेष महिना हो । यही महिनामा उनी जन्मिए (फागुन १०) र यही महिनामै उनले जीवनको महत्वपूर्ण अर्धाङ्गिनी राधिका शाक्यसँग (फागुन २२) लगनगाँठो कसे । यही महिनामै भ्यालेन्टाइन डे (प्रणय दिवस) पनि पर्छ । प्रधानमन्त्री निवासमा छिर्ने बित्तिकै ठट्यौली वातावरण बनाउन हामीले सोध्यौँ, ‘प्रधानमन्त्री ज्यू, यस पटकको प्रेम दिवसमा केही विशेष पो छ कि ? प्रेमका बारेमा यहाँको के छ धारणा ?’

प्रधानमन्त्री ओली यस विषयमा भने ठट्यौली मुडमा देखिएनन्। बरु उनी गम्भीर भए, भने, ‘बिहान निस्किएको मान्छे एकै पटक राति कुन बेला घर फिर्छु थाहा हुँदैन । फूल र रोमान्टिक कुरा त झनै बिर्सिरहेको हुन्छु । मेरा लागि यो ‘भ्यालेन्टाइन्स डे’को के कुरा !’ यसपछि प्रधानमन्त्री केही सम्झेझैँ देखिए । उनले एक किसिमको मौनतालाई तोड्दै एउटा घटना सुनाए ।

‘मेरा माइला हजुरबा हुनुहुन्थ्यो, जोगी, सन्यासी । असी वर्षको उमेरसम्म उहाँ एउटा ऋषिमुनिको जीवन लिएर बाँच्नु भयो, तपश्वी हुनुभयो । हरेक तीन वर्ष फलफूल खाने, अर्को तीन वर्ष रुखका पात खाने गर्नुभयो । उहाँको कुटीमा अचानक एक जना गुरागाईं वृद्धा पाल्नुभयो । उहाँ त्यो कुटीमा केही वर्ष बस्नुभयो । गाउँभरिका मानिस उहाँलाई फलफूल, दूध, नैवेद्य चढाउँथे । यसअघिसम्म उहाँलाई संसारबारे मतलब थिएन । उहाँका ज्ञानगुनका कुरा सुन्न गाउँभरिका मानिस आउँथे, सुन्थे, जान्थे ।’

‘हरेक बिहानझैँ त्यो दिन पनि उसैगरी गाउँभरिका मानिस उहाँको प्रवचन सुन्न आए । उनीहरुले अन्य दिनझैँ फलफूल र अनेकन चिज ल्याएका थिए । हजुरबुबा निन्याउरो अनुहार लिएर बस्नु भएको थियो । सधैँ प्रसन्न चित्तका जोगी, सधैँ भर्भराउँदो कान्तियुक्त व्यक्ति झोक्राइरहनु भएको थियो, अनुहारको कान्ति हराएको थियो ।

सबैलाई चिसो पस्यो, यी तपश्वीलाई के भयो ? उहाँले भन्नुभयो, ‘अब तिमीहरु मकहाँ दर्शन गर्न नआउनू, फलफूल नचढाउनू, भोलिदेखि मलाई केही सामग्री नल्याउनू । मसँग आशीर्वाद पनि नमाग्नू ।’ सन्यासीको कुरा सुनेर सबै जना चकित भए । सबैलाई के भयो किन भयो यस्तो ? उहाँले भन्नुभयो, ‘हिजोसम्म म जे थिएँ, जोगी–सन्यासी म रहिनँ ।’

‘नेपालीहरुले ‘भ्यालेन्टाइन्स डे’ मनाउँछन् । सन्त भ्यालेन्टाइन्सको वियोगी प्रेम सम्झन्छन् । म भने मेरो माइलो हजुरबुबालाई सम्झन्छु । असी वर्षको उमेरसम्म उहाँले जे कुरा कमाउनु भएको थियो, गुरागाईं हजूरआमाका लागि, उहाँसँगको प्रेमका लागि सारा कुरा त्याग गर्नुभयो । मेरा लागि सन्त भ्यालेन्टाइन त उहाँ हो, जसले एउटी स्त्रीसँग जीवनको अन्त्यमा जुन प्रेम गर्नुभयो, त्यो प्रेमका लागि जस्तोसुकै अवहेलना र वचन पनि खेप्न तयार हुनुभयो ।’

‘उहाँले यो कुरा लुकाउन पनि सक्नु हुन्थ्यो तर लुकाउनु भएन । लुकाएर म आफैँलाई ठग्न सक्तिनँ भन्नुभयो । भोलिदेखि म यहाँ बस्ने छैन, तिमीहरु नआउनू भनेर उहाँले सबै कुरा सुनाउनु भयो । त्यसपछि उहाँ त्यो जोगीकुटी छाडेर हिँड्नुभयो ।’

‘उहाँ पतित हुनुभयो भनेर धेरैले आलोचना गरे तर मेरो नजरमा उहाँले प्रेमका लागि सारा ख्याति र इज्जत दाउमा लगाउनु भयो । मेरा लागि त उहाँ भ्यालेन्टाइनभन्दा ठूला सन्त हुन्। नेपाली सन्त भ्यालेन्टाइन !’ जस्तोसुकै अप्ठेरो र आलोचना खेप्नु परे पनि झूटो नबोल्ने आफ्नो हजुरबुबाको त्यो आँट देखेर किशोर कालमा ओलीलाई गहिरो प्रभाव पर्‍यो । आफूमा पनि झूटो नबोल्ने त्यो गुण आएको उनको बुझाइ छ ।

अर्धाङ्गिनी राधिका
ललितपुरको पाटनमा जन्मिएकी राधिका शाक्यले जीवनमा बिहे गर्दिनँ भनेर अड्डी कसेकी थिइन् । आफ्ना साथीसङ्गी सबैको बिहे भइसक्दा पनि उनले आफ्नो धारणा कहिल्यै फेरिनन् तर अचानक केपी ओलीलाई भेटेपछि उनका सारा योजना अलपत्र परे । उनले ओलीलाई वरण गरिन् ।

नेपाली राजनीतिमा झापा काण्ड बहुचर्चित छ । यस काण्डमा ओली पक्राउ परे । उनलाई कठोर काराबास सुनाइयो । १४ वर्षसम्म उनी जेल पर्दा उनको स्वास्थ्य यति खस्क्यो कि त्यो बेलाका पार्टीका सदस्यहरुमा उनको राम्रो स्याहार नभए थोरै वर्षको अतिथि पो हुने हुन् कि भन्ने चिन्ता थियो । यो चिन्ता हटाउन राधिकासँग ओलीको बिहे गराई दिन पार्टी नेताहरु माधव नेपाल, प्रदीप नेपाल लगायतका नेताबीच छलफल चल्यो । २०३६ सालमै नेपाल राष्ट्र बैङ्कमा जागिरे भइसकेकी राधिकाको भरथेग भए, ओलीको राजनीतिक जीवन र स्वास्थ्य सहज हुने आँकलन साथीभाइको थियो ।

बिहे हुनुको अर्को कारण भने उनी पार्टीका विविध कार्यक्रममा गाउँठाउँ पुग्दा त्यो घरमा वधु माग्न पुगेका हुन् कि भन्ने खोजिनीति हुन्थ्यो । यस्तो समस्याबाट आजित भएका उनी एउटा स्थायी समाधानको खोजीमा थिए । यसै खोजीको क्रममा महिला संगठनकी कार्यकर्ता राधिका सबैको नजरमा परेकी थिइन् ।

‘मैले ओलीजीका बारेमा पहिले सुनेकी मात्र थिएँ, व्यक्ति देखेकी थिइनँ,’ राधिकाले प्रधानमन्त्री निवास बालुवाटारको बैठक कक्षमा हामीसँग कुरा गर्दै भनिन्, ‘मैले पहिलो पटक उहाँलाई २०४४ साल असारमा जेलबाट निस्केपछि पाटन इन्जिनियरिङ्ग क्याम्पसले उहाँको स्वागतमा आयोजना गरेको कार्यक्रममा देखेकी थिएँ । पछि पार्टीबाट कुरा आयो, उहाँले पहिलो भेटमै बिहेबाट केही अपेक्षा नगर्नू भन्नुभयो । उहाँको इमानदारिता, कुरा नचपाउने र सत्य बोल्ने कुरा मलाई मनप¥यो ।’

हामीले प्रधानमन्त्री ओलीलाई सोध्यौँ, ‘पहिलो पटक म्याडमलाई कहिले र कहाँ भेट्नु भयो ? त्यो बेलाको डेटिङ कस्तो हुन्थ्यो ?’ केहीबेर सम्झने प्रयास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मंसिर २७ गतेको दिन थियो । म एक जना साथीको बिहेमा अभिभावकत्व ग्रहण गरेर फर्कँदै थिएँ । त्यही दिन भेट्न चाँजोपाँजो मिलाइएको थियो । साँझको बेला थियो । मैले उनलाई खुलस्त कुरा राखें । दायाँ–बायाँ कुरा थिएन ।’

पहिलो भेटमा राधिकाले भने केही दिन सोच्छु भनेर जवाफ दिइन् । हुन्छ भनिहाल्नुपर्ने कुरा पनि त थिएन ! ओलीले भने राधिकालाई त्यो बेला भनेको सम्झन्छन्, ‘मेरो घरजग्गा, सुन, फ्याक्ट्री यति छ भनेर भनेको भए पो हो कि होइन भनेर हेर्न जाउँ भन्ने कुरा हुन्थ्यो, निर्णय लिनुपर्ने, चेकजाँच गर्नुपर्ने हुन्थ्यो । केही थिएन । सिङ्गो म मात्र छु भनेपछि के सोच्नु ?’

उनका अगाडि १४ वर्ष जेल परेर निस्केका कृष काया ओली छन् । जेलमा हुँदा क्षयरोग लागेको थियो । थपमा अल्सर पनि भएको थियो । ज्यान पनि रोगी र जीर्ण छ । उनले त्यही बेला राधिकालाई प्रष्ट भनिदिए, ‘म फेरि पनि जुनसुकै बेला फँसाइन सक्छु र जेल हालिन सक्छु ।’

यस्तो अवस्थामा पनि राधिकाले कसरी ओलीलाई ‘पत्याइन्’ होला ? ‘त्यै त !’ प्रधानमन्त्री ओलीले मुस्कुराउँदै राधिकातिर हेरेर भने, ‘मलाई पनि अचम्म लाग्छ, के मूर्खता गरेको होला !’
प्रधानमन्त्री ओली राधिकालाई हेर्दै थप्छन्, ‘मैले त्यही बेला भनेको थिएँ, म एक छाक ख्वाउने जिम्मा लिन सक्तिनँ, एकसरो लुगा हाल्दिने वा रुमाल किनिदिने, एक दिन बास बसाउने जिम्मा लिन सक्तिनँ ।

मेरो आफ्नै घर छैन, बासको जिम्मा कसरी लिऊँ ! मेरो आफ्नै भर छैन, मारिउँला, के हुँला, कहाँ पुगुँला ! कसरी जिम्मा लिनु ? यस कारण के बुझ्नुपर्‍यो भने एक छाक खाना आउँदैन, एक बास आउँदैन, केही पनि हुँदैन । कुनै पनि बेला बिरामी हुनसक्छु, धन सम्पत्ति केही पनि छैन । अब दुई चार दिन लगाएर यसमा चिन्तन मनन् गर्नुपर्ने केही छैन ।’

त्यो बेला आफ्नो अवस्था ‘चरीको कहाँ छ र घर…’ भन्ने गीत जस्तो भएको र राधिकालाई खुलस्त सुनाएको बताउँछन् । ‘मैले घरको सपना देखाउने कुरा थिएन,’ उनले भने, ‘बिहेअघि एउटी श्रीमती पाल्न सकुँला भन्ने पनि थिएन । स्थिति नै छैन त, के भनेर धाक लगाउने ?’

आफ्ना अगाडि खुलस्त उभिएका आफ्ना नेता र भावि श्रीमान् देखेर राधिकाको मनमा के आयो त ? बिहेको टुंगोमा पुग्नु अघिसम्म राधिकालाई ओलीको झापा विद्रोहीको क्रान्तिकारी राजनीतिक छवि थियो, १४ वर्ष जेल बसेको जानकारी थियो र साथै ओलीले बाल्यावस्थामै आमा गुमाएको कुरा पनि सुनेकी थिइन् ।

घर परिवारका त्यसबेला मालेको राजनीतिमा सक्रिय रहेकोले पार्टी नेताबारे जानकारी पाएकी राधिकाले ३० वर्षअघिको त्यो क्षण सम्झिइन् । ‘मलाई त एउटा चुनौती आयो,’ भावुक स्वरमा राधिकाले भनिन्, ‘म अब एकसाथ उहाँको पत्नी हुनुपर्ने, आमा हुनुपर्ने, सबैथोकको रेखदेख गर्नुपर्ने स्थिति थियो । र, मैले उहाँको स्वास्थ्यका लागि, करियरका लागि सबै जिम्मेवारी र चुनौती पूरा गरें ।’
ओलीले थपे, ‘मैले राजनीतिको जिम्मा लिएँ, खाने–बस्ने पाटोको जिम्मा उनले लिइन् । मैले जुन पारिश्रमिक पाउँछु, धेरैजसो सोसल वर्कमा जान्छ । त्यसैले बाँकी कुरा त उनकै भागमा पर्‍यो ।’

राधिकाले पूरै सबैथोक छोपिदिएकाले पनि आफूलाई काम गर्न सहज भएको अनुभव प्रधानमन्त्री ओलीले सुनाए । ‘म अलि एकोहोरो छु,’ उनले भने, ‘कुनै काम गर्न थालेँ भने को आयो र को गयो म भेउ पाउँदिनँ । पढ्न बसेँ भने पनि घण्टौँ पढाइमा जान्छ तर कुनै घटना अगाडि नै घट्यो भने पनि थाहा हुँदैन । पार्टीको काममा पनि म यही तहमा लागिरहेँ, लाग्न पाएँ ।’

पति पत्नी भएपछि सबैको घरमा ठाकठुक त परिहाल्छ । पारिवारिक जीवनमा कत्तिको ठाकठुक पर्छ त ? ‘म त एकोहोरो (गाली) खाइरहेको हुन्छु !’ ठट्यौली पारामा प्रधानमन्त्रीले भने, ‘चरम नि ! मलाई त खुलेआम जोइटिङ्ग्रे भनिदिए हुन्छ ! उनले भनेको खुरुक्क मानिरहेको हुन्छु ।’
यसो भनिरहँदा बालुवाटारको प्रधानमन्त्री निवासमा ठूलो हाँसो फैलियो ।

हुन पनि त्यहाँ प्रधानमन्त्री कार्यालयका केही कर्मचारी, ‘नागरिक परिवार’ म्यागेजिनका आवरण तस्बिर खिच्न पुगेको टोली र पत्रकारहरुको एक मुष्ठ हाँसोले निवास गुञ्जायमान बन्यो । प्रथम महिला राधिकाले बीचमा हाँसो रोक्ने प्रयास गर्दै भनिन्, ‘वास्तवमा उहाँले त मैले भनेको केही मान्नु हुन्न । म समयमा खानू, समयमा सुत्नू भनिरहेकी हुन्छु, उहाँ मान्नु हुन्न ।’ यस्तै कुरामा उहाँहरुको ठाकठुक पर्दोरहेछ ।

‘टाइममा भात खानू भन्छिन्, म पनि टाइममै खान्छु,’ हाँस्दै प्रधानमन्त्री ओलीले भने, ‘घडी हेर त भनेर उनलाई भन्छु, उनी घडीतिर हेर्छिन् अनि म भन्छु यही त हो टाइम । टाइममै खाइरहेको छु भन्छु । सुत्ने बेलामा पनि घडी हेर त भन्छु, उनी घडीतिर हेर्छिन् । देख्यौ टाइममै सुत्न जाँदैछु भन्छु ।’
ठट्टापछि केही शान्त हुँदै प्रधानमन्त्री ओली भन्छन्, ‘यो अलग कुरा हो, उनले भनेको समय र मैले दिने समय एकै हुँदैन । समयमा खाने, सुत्ने, उनले भनेको एउटा स्थिति हुन्छ, मेरो स्थिति अर्को हुन्छ । उनका लागि त्यो उल्लंघन हुन्छ ।’

राधिकाका लागि उनको पतिको स्वास्थ्य र जीवन ठूलो कुरा थियो, त्यसैले हस्तक्षेप गर्नु स्वाभाविक थियो । यत्ति नगरेको भए उनको आयु यत्ति लामो नहुन पनि त सक्थ्यो ! ‘त्यै त, म आफैँ पनि छक्क परेको छु !’ प्रधानमन्त्रीले भने, ‘मलाई त २०३१ सालमै मर्छु कि क्या हो भन्ने लागेको थियो, तर मरिनँ, त्यसपछि २०३३–३४ सालमै टिबि भएर, अल्सर भएर अन्तिम अवस्थामा थिएँ । त्यो बेला पनि कसरी बाँचेँ जस्तो लाग्छ ।’

पछिल्ला वर्षमा पनि त उनको स्वास्थ्यका बारेमा खबरहरु आउने गर्छन् । कहिले उनको मिर्गाैलाले काम गरिरहेको हुँदैन, कहिले इन्फेक्सन भएर प्रधानमन्त्री बेड रेस्टमा रहेको खबर आउँछ । अहिले पनि उनलाई कहिलेकाहीँ सानोतिनो इन्फेक्सनले पक्रिहाल्छ । त्यही भएर उनी सधैँ सचेत हुनुपर्छ, चनाखो बन्नुपर्छ हरदम ।

जेलजीवनको दुःख
यो अवस्था त्यो बेलाले ल्याएको थियो, जुन बेला जेलमा उनले भने जस्तो खान्की पाएनन् न त स्वास्थ्य उपचार । बिरामीले थलिएका बेलामा उनका लागि कुनै विशेष खान्की थिएन । दिनको ७५ पैसामा खाना, तरकारी, दाल जे चाहिन्छ, त्यो किन्नु पथ्र्यो । थोरै दाउरामा ती कुरा पकाउनु पथ्र्यो ।

‘यो पहेँलो पानी के को झोल हो ?’ पहिलेका ठट्टा सम्झँदै प्रधानमन्त्रीले भने, ‘केही साथीहरुले झोलमा हात डुलाउँदै जेलका भान्सेलाई सोध्थे अनि भान्सेले जवाफमा भन्थे, रहर वा मासको दाल । अनि झोलमा हातले खोज्दाखोज्दा बल्ल तल्ल एक दुई दालका दाना फेला पर्थे । यो कस्तो दाल हो, शिला खोज्नुपर्ने ? भान्सेहरुले जवाफमा भन्थे, काँचै दिएको हो र ? पाकिसकेको दालमा पनि शिला खोज्ने ? गलेर त्यो त बिलाइसक्यो नि !’ अथाह पीडा र अँधेराका बीचमा हुने यस्ता ठट्टाले उनलाई जीवनप्रति सकारात्मक बनाउँथ्यो ।

‘थोरै सामग्रीमा पनि कसरी स्वादिलो खाने कुरा बनाउने भन्ने कुरा जेलमा मैले सिकेँ,’ उनले भने, ‘अल्प कुरामा कसरी सन्तुष्ट हुन सकिन्छ भन्ने कुरा मैले त्यहीँ सिकेको हुँ । त्यसैले मलाई कतिपय साथीहरुले विलासी भयो भनेर आलोचना गरेको कुरामा के भन्छु भने मैले ती दिन देखेर आएको छु । विलासी हुनुपर्ने बाध्यता भने मेरो रोगका कारणले हो । त्यो रोग पनि त्यही जेल जीवनका कारण, समयमा उपचार नभएका कारणले भएको हो ।’

म त तुलसी जस्तै
बिहेअघि नै ओलीले राधिकालाई भनेका थिए, ‘झार दुई किसिमका हुन्छन्, एउटा त्यत्तिकै फोहोरमा पनि हलक्क बढ्ने र अर्को स्याहार नभई नहुने । म चाहिँ तुलसीको बोट हुँ । मलाई स्याहार भएन भने ओइलाउँछु । सफा र सुग्घर राखिएन भने सुक्छु ।’ ओलीको तुलसी विम्ब समयक्रममा ठ्याक्कै प्रमाणित भयो । वास्तवमा उनी तुलसी नै प्रमाणित भए, देशको शिरमा फक्रने तुलसी !

बिहेको भोलिपल्ट
पार्टीका केही नेताको रोहवरमा फागुन १०, २०४४ सालमा राधिका र केपी ओलीबीच विवाह सम्पन्न भयो । पार्टीले कुपण्डोल नजिक गरेको प्रगतिशील विवाहमा करिब २०, २२ जना सहभागी थिए । कुराकानीका क्रममा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल पनि त्यसबेला रहेको राधिकाले बताइन् । पार्टीले आयोजना गरेको विवाहका दुई साता माइती, साथीभाइकोमा बिते । पछि फागुन २६, २७ गते ठ्याक्क मिति याद छैन राधिकालाई माइती पक्षले औपचारिक टीकाटाला गर्ने छोरीलाई घर पठाउने भयो ।

राधिकाको माइतीमा सामान्य टीकाटालो गरेर छोरी–ज्वाइँलाई बिदा गरियो । त्यो दिउँसो त्यहीँ खानपिन भयो । खानपिनमा चिउरालगायत थियो । माइतीबाट बिदा भएपछिको त्यो रात सम्झँदै प्रथम महिला राधिका भन्छिन्, ‘डेरा खोजेकी थिएँ, डेरामा राति पिउने पानीको व्यवस्था छैन, प्यास लाग्यो भने के गर्ने, चिउरा खाएपछि धेरै प्यास लाग्छ । अन्य कुरा त परै जाओस् । मैले राति प्यास लाग्ला भनेर ग्लुकोजको प्लास्टिकको बट्टामा पानी बोकें । मेरो पहिलो सम्पत्ति भनेको त्यही ग्लुकोजको बट्टा थियो ।’

माइतीको एउटा हाँसीखुसी परिवारबाट चटक्क निस्केर उनले पुनः संसार बसाउनु प¥यो । डेरामा क्रमशः स्टोभ थपियो, भाँडाकुँडा थपिए, अनेक स–साना र खुद्रा कुराहरु पनि थपिए । ती कुराभन्दा पनि सबैभन्दा ठूलो चुनौती थपियो । ‘मैले उहाँसँग बिहे गर्दा ठूलो चुनौती स्वीकारेकी थिएँ,’ उनले भनिन्, ‘मैले उहाँको जीवन व्यवस्थित बनाउनु थियो, उहाँलाई स्वस्थ उभ्याउनु थियो र राजनीतिमा भरथेग गर्नु थियो ।’

बिहेपछिको चुनौती कस्तो भयो भने बिहान कलेज जाने, हतारहतार आएर उभिएरै खाना खाने अनि कार्यालय जाने, बेलुकी फेरि भातभान्सा गर्ने । सारा काम सिध्याउँदा रातको १२ बजिसकेको हुन्थ्यो । उनी भन्छिन्, ‘मैले बिरामी हुँदाका बेलाबाहेक कहिल्यै पनि १२ बजेअघि सुत्न पाइनँ, अहिले पनि त्यो क्रम निरन्तर छ ।’

त्यो बेलाको समाजमा पाटनकी एउटा नेवार युवतीले झापाको गाउँले बाहुनलाई वरण गर्दा प्रत्यक्ष आफूले कुनै भेदभाव अनुभव गर्नु नपरेको राधिका बताउँछिन् । ‘प्रत्यक्ष रुपमा कसैले पनि मलाई नराम्रो भनेको पाइनँ, सुनिनँ,’ उनले सुनाइन्, ‘न त घरकाले न त माइतीले । मनमा त को पस्न सक्छ र ?’

राष्ट्र बैंककी जागिरे राधिकाले विवाहबारे अफिसमा जानकारी दिएकी थिइनन् । थाहा दिने कि नदिने ? यो प्रश्नले सतायो उनलाई । त्यसबेला राष्ट्र बैंकको काठमाडौं बाहिर घर हुनेहरूले काठमाडौंका अफिसमा कार्यरत रहेको अवस्थामा मासिक २५० ‘आउट स्टेसन’ भत्ता पाउँथे । बिहे गरेको छ, सरकारले विद्रोही ठानेको व्यक्तिसँग । अब आफ्नो विवाह खुलाउने कि नखुलाउने भन्ने समस्या पनि त्यसमा थपियो । गहन छलफलपछि बिहे गरेको दुई महिनापछि काठमाडौंबाट झापाको सुरुङ्गा पुगेर गाउँ शरणामतीमा गई विवाह दर्ता गराएको सम्झिइन् ।

प्रजातन्त्र आउनुअघिसम्म राजनीतिमा समेत सक्रिय उनी यसपछि भने राजनीतिबाट टाढिइन् । पतिलाई नै राजनीतिमा अघि बढाउनु उनलाई श्रेयस्कर लाग्यो । प्रधानमन्त्री ओली पनि आफू राजनीतिमा लाग्ने र राधिकालाई आफ्नो राजनीतिक करिअरमा साथ लिने आग्रह गरेको बताउँछन् । ओली राजनीतिमा सक्रिय रहँदै मुलुक र पार्टीको सर्वोच्च पदमा छन्, राघिका अहोरात्र उनको स्वास्थ्य, खानपिनलगायतका सारा आवश्यकताको ओत बनेर बसेकी छन् ।

त्यो बेला प्रायः नेता कसैको पनि घर थिएन । त्यसमाथि ओलीको परिवार पनि भरथेग गर्न सक्ने किसिमको होइन । त्यसैले जसै ओलीको प्रगति हुँदै गयो, परिवारको जिम्मेवारी पनि हेर्नुपर्ने अवस्था राधिकालाई आइपर्‍यो । हामीले प्रधानमन्त्री ओलीलाई सोध्यौँ, ‘तपाईंको सफलतामा उहाँको हात कत्तिको छ ?’

‘पत्नीको हात नहुने होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘कोही मान्छे सफल हुन उसको पृष्ठभूमि, उसका विभिन्न सन्दर्भले भूमिका खेल्न सक्छ । श्रीमतीको सहयोग भयो भने राम्रो । अविवाहित कृष्णप्रसाद भट्टराई पनि प्रधानमन्त्री हुनुभयो, कुमार सुशील कोइराला पनि प्रधानमन्त्री हुनुभयो । गिरिजाप्रसाद कोइरालालाई पनि त्यत्रो पारिवारिक सहयोग भएको बुझिँदैन । अँ, बिपी कोइरालालाई पारिवारिक सहयोग थियो, श्रीमतीको सहयोग थियो । सि जिनपिङ, डोनाल्ड ट्रम्पलाई पत्नीको सहयोग होला, नरेन्द्र मोदीजीलाई नहोला ! सफल हुनका लागि ठ्याक्कै सूत्र हुँदैन । मेरो हकमा मलाई उनको सहयोग भएरै राम्रो भएको हो ।’

सन्तान सुख
प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यको जीवनमा सन्तान नभएकोमा कुनै दुःख छैन । सन्तान भएनन् भनेर न त कहिल्यै दुवैले कुनै उपचार गरे न त कुनै फुकफाकमा लागे । ‘भएका भए ठिकै हुन्थ्यो होला,’ राधिकाले भनिन्, ‘भएनन् भनेर कुनै दुःख पनि छैन । त्यसका लागि झोक्राएर बस्ने, पीर मान्ने काम मैले गरिनँ ।’

घर बनाउने पिरलो
एक दिन राधिकालाई सञ्चो थिएन । उनको दिमागमा आयो, मलाई केही भइहाल्यो भने त बूढाको बिचल्ली हुन्छ । कसले हेरिदेला ? कहाँ डेरा सर्ने ? कहाँ जाने ? सरसामग्रीको हालत के होला ? मान्छेको जिन्दगीको के भर ? मलाई कथं केही भइहाल्यो भने भाँडाकुँडा कहाँ लाने ? के गर्ने ? फेरि उहाँलाई घरायसी कुरा केही पनि थाहा छैन। मेरो बूढाले दुःख पाउने हुनुभयो ।

ती सबैलाई थन्क्याउन त एउटा घर बनाउन पाए हुन्थ्यो ! आफूपछि उहाँको रेखदेख गर्ने कोही नहोलान्, कम्तीमा घर भयो भने उहाँको बिजोग हुने थिएन ! त्यो बेला ओली गृहमन्त्री भइसकेका थिए । पदअनुसार उपयुक्त हुने कुनै डेरा फेला परेन । दिनदिनै पतिको राजनीतिक उचाइ बढिरहेको छ । यस कारण पनि एउटा घरको आवश्यकता उनले देखिन् ।

बसाइकै समस्याका कारण उनी माइतीमा पाँच वर्ष बसिन् । बिहेपछिका १७ वर्ष डेरामा बितिसकेका थिए । जम्मा नौ महिना मन्त्री क्वार्टरमा उनले बिताइन् । चिन्ता बढ्दै जाँदा उनले एक दिन घर सल्लाह गरिन् तर ओलीले अहिले बेला भएको छैन भन्दै टारिदिए । उनलाई लाग्यो, ‘अब उहाँको निर्णय पर्खेर बस्नु हुँदैन ।’

एक दिन उनी बालुवाटारस्थित राष्ट्र बैंकमा साथी सुवर्ण कपालीसँग घर बनाउनेबारे गन्थन गरिरहेकी थिइन् । साथीको सुझाव आयो, ‘घर बनाउने भन्ने कुरा पैसा कुस्त भएर होइन । बनाउँदै जाने हो, पैसा पनि बिस्तारै तिरिँदै जान्छ ।’

उनको कुराले राधिकालाई हिम्मत आयो । उनले २०५८ सालमै भक्तपुरको बालकोटमा जग्गा किनिसकेकी थिइन् । ऋणपान गरेर उनले घर बनाइन् । त्यो घर बनाउन पनि उनका भाइ ज्ञानेन्द्र शाक्यले ठूलो दुःख गरे । ‘उसले एक छाक खाएर त्यो घर बनाएको हो,’ भाइको सम्झनामा दिदी राधिका कृतज्ञ हुन्छिन्, ‘यो घर बनाइसक्न करिब एक वर्ष लाग्यो । मेरो बिदा वा शनिबार प¥यो भने मैले उसलाई खाना पुर्‍याई दिन्थें । त्यति दुःख गरेको छ उसले ।’

जब यो घरलाई कसैले केपी ओलीको घर हो भनेर भनिदिन्छन्, राधिकालाई चित्त दुखेर आउँछ । ‘यो घरमा त उहाँ बस्ने मात्र हो,’ उनले भनिन्, ‘दुःख गरेर मैले बनाएकी हुँ ।’ उनले भावुक हुँदै भनिन्, ‘त्यो घर बन्दा मलाई दुई कुराले बडो सन्तोष भएको थियो । पहिलो त, भाइको मिहिनेतले किफायतीमा धेरै बलियो घर बन्यो । अर्को चाहिँ, मान्छेको चोला केही कथं मलाई केही भइहाल्यो भने मेरो बूढाको बिजोग हुँदैन भनेर ढुक्क भएकी थिएँ ।’