Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । चीनले अहिले ‘स्पेस सोलार प्लान्ट’ अर्थात अन्तरिक्षमा आधारित सौर्य ऊर्जा विकास गर्नतर्फ काम गरिरेको बताएको छ जसबाट कुनै दिन पृथ्वीसम्म ऊर्जा ल्याइ एउटा पूरै सहरलाई बिजुली प्रदान गर्न सकिने बताइएको छ ।

तर यसका लागि वैज्ञानिकहरुले अनगिन्ती प्राविधिक चुनौतीहरुको सामना गर्नुपर्ने हुन्छ ।
यो परियोजनाले ऊर्जा उत्पादनका कारण पृथ्वीमा उत्पन्न हुने प्रदुषण र जलवायु परिवर्तनको समाधान गर्न सक्ने अपेक्षा गरिएको छ ।

यसरी अन्तरिक्षमा आधारित सौर्य ऊर्जा स्टेसनले पृथ्वीको वर्तमान पिँढीलाई अप्रभावकारी नवीकरणीय ऊर्जा श्रोतका लागि समेत नयाँ विकल्प प्रदान गर्नेछ । यसअघि भने वैज्ञानिकहरुले अन्तरिक्षमा आधारित ऊर्जा प्रणाली अत्यधिक महङ्गो हुने हुँदा यसका लागि लामो समय कुर्नुपर्ने बताउँदै आएका थिए ।

तर बेइजिङले २०२० सम्ममा पूरा हुने वचनका साथ यस परियोजनाका लागि ३६७ अर्ब डलर लगानी गर्ने निर्णय सुनाएको छ जसले वास्तवमै चीनको अतुलनीय आर्थिक क्षमताबारे स्पष्ट पार्दछ । यसरी चीनले वास्तवमै यो प्रणाली निर्माण गर्न सफल भएमा मानव समुदायका निम्ति यो अहिलेसम्मकै महत्वपूर्ण प्रविधि हुने विश्लेषकहरुको भनाइ छ ।

राष्ट्रद्वारा सञ्चालित चिनियाँ एरोस्पेस साइन्स एण्ड टेक्नोलोजी कोर्पोरेसनले सौर्य स्पेस स्टेसनलाई २०५० सम्ममा व्यवसायिक बनाउने समेत अपेक्षा गरेको छ । यसरी अन्तरिक्षमा उत्पादित ऊर्जालाई लेजर र माइक्रोवेभ मार्फत पृथ्वीसम्म ल्याइनेछ । तर चिनियाँ अन्तरिक्ष विश्लेषक पाङ जिहाओले भने यो तरिका मानवलगायत बोटविरुवा र जीवजन्तुमा दीर्घकालीन क्षति पुर्याउन सक्नेबारे चेतावनी दिएका छन् ।

त्यसैगरी स्पेस सोलार प्लान्ट असीमित नवीकरण ऊर्जाको श्रोत र जलवायु परिवर्तनको समाधान हुने भएपनि यस क्रममा उत्पादन हुने लेजर, बेइजिङका निम्ति शक्तिशाली सैन्य हतियार बन्न सक्नेबारे पनि चिन्ता व्यक्त गरिएको छ । पृथ्वीमा भन्दा अन्तरिक्ष प्रणालीमा सूर्यको ऊर्जा ६ गुना शक्तिशाली हुने हुँदा यो प्रविधि तुलनातमक रुपमा अत्यन्तै प्रभावकारी साबित हुने बताइएको छ ।

साथै यस ऊर्जा स्टेसनले ९९ प्रतिशत समय सूर्यबाट ऊर्जा संकलन गरि पावर उत्पादन गरिरहनेछ जुन प्रक्रिया ग्रहण लागेका बेला मात्र रोकिनेछ । यसरी अन्तरिक्षको दौडमा चीन ढिलो सहभागी भएपनि पछिल्ला केही वर्षमा चीनले धेरै ठूला उपलब्धि हासिल गरिसकेको छ ।

चीनले १९७० सम्ममा पनि पहिलो स्याटलाइट पठाएको थिएन तर गत वर्ष चन्द्रमाको दक्षिण ध्रुवतर्फ अन्तरिक्षयान अवतरण गराउँदैे नयाँ इतिहास रचेको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङको शासनमा चीनले पृथ्वीमा जति आर्थिक उन्नति गरिरहेको छ त्यसै अनुरुप अन्तरिक्षका गतिविधिहरुमा पनि अर्बौँ खर्च गरिरहेको छ ।

यसरी आइतबार भएको सम्मेलनमा बोल्दै चिनियाँ चन्द्रमा भ्रमण तथा अध्ययन विभागका प्रमुख डिजाइनरले मंगल ग्रहमा पनि यान पठाउने योजना सुनाएको सीएनएनले जनाएको छ ।
वे वेइरेनले २०२० भित्रमै मंगल ग्रहमा चीनले अन्तरिक्षयान पठाउने दाबी गर्दै भने, ‘पछिल्ला ६० वर्षमा हामीले धेरै उपलब्धि हासिल गरेका छौँ तरपनि अझै विश्वका अन्तरिक्ष शक्तिहरुको तुलनामा हामी पछाडि नै छौँ । यसकारण हामीले आफ्नो गति बढाउनै पर्छ ।’

अमेरिकी राष्ट्रिय अन्तरिक्ष समाजका अनुसार अन्तरिक्षमा आधारित सौर्य ऊर्जा सबैभन्दा ठूलो ऊर्जाको श्रोत हुनेछ जसले यस ग्रहका सम्पूर्ण मानिसलाई आवश्यक ऊर्जा प्रदान गर्न सक्नेछ । यसरी यो योजनाबारे १९६० देखि नै विचार गरिएको भए पनि यसका लागि आवश्यक उच्च लगानी र प्राविधिक कठिनाइ नै प्रमुख बाधक बन्ने गरेका छन् ।