×

TUNGOON

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती आज मनाइयो



काठमाडौं । कात्तिक २९ गते
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती आज मनाइएको छ । जन्मजयन्तीका अवसरमा देवकोटाको शालिकमा माल्यार्पण गरिएको थियो । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।दश वर्षका उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवत्र्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्धसङ्ग्रह’ प्रकाशन गर्नुभएको थियो ।

विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु भएको थियो । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । आशुकवि देवकोटाको कविप्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला