Spread the love
  • 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares


काठमाडौं । कात्तिक ३ गते
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी ओलीले पार्टीभित्र छलफलका लागि छुट्टै्र प्रस्ताव ल्याउनुहुने भएको छ ।बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीभित्र छलफलका लागि छुट्टै प्रस्ताव पेश गर्ने बताउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको हो ।

प्रवक्ता श्रेष्ठले आगामी मंसिर १३ गते बस्ने सचिवालय बैठकमा ओलीले आफ्नो प्रस्ताव पेश गर्ने तय भएको र यसअघि नै प्रचण्डले पेश गरेको तथा ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने जानकारी दिनुभयो ।यसअघिको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले बुहमत सदस्यको समर्थनमा १९ पेज लामो प्रस्ताव पेश गरेपछि ओली पक्ष असन्तुष्ट भएको थियो ।

प्रस्तावमा पार्टी र सरकार सञ्चालनमा ओली असफल रहेको दाबीसहित निकासका लागि त्याग गर्न माग गरिएको थियो । प्रचण्डले एकलौटी ढंगले गम्भीर आरोपसहित प्रस्ताव पेश गरेको भन्दै ओली पक्षले भने उक्त प्रस्ताव फिर्ता लिनुपर्ने बताएको थियो । तर, प्रचण्ड प्रस्ताव फिर्ता लिन तयार नभएपछि अध्यक्ष ओलीले पनि आफ्नो प्रस्ताव सचिवालयमा पेश गर्न लाग्नुभएको हो ।त्यस्तै बैठकले स्थायी कमिटी आह्वान गर्ने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार आगामी १८ गते स्थायी कमिटी बैठक बस्नेछ । त्यस्तै यसअघि मंसिर १५ गतेका लागि तय भएको नेकपा केन्द्रीय कमिटि बैठक मंसिर २५ गतेका लागि सारिएको उहाले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले पार्टीको संकट र निवारणको सम्बन्धमा सबै प्रस्ताव समेतको आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिने बताउनुभयो ।त्यस्तै प्रवक्ता श्रेष्ठले पार्टीभित्रको समस्याका बारेमा राष्ट्रपतिले छलफल गर्नुलाई अनर्थ बुझ्न नहुने बताउनुभयो । त्यस्तै उहाले चिनिया राजदूतसंगको भेट र पार्टी विवाद फरक फरक भएको भन्दै बाह्य हस्तक्षेप नभएको स्पष्ट पार्नुभयो । पार्टी र सरकार सञ्चालनमा अध्यक्ष ओलीले एकलौटी गरेको भन्दै नेकपाभित्र विवाद हुँदै आएको छ । त्यस्तै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको ‘काउन्टर’ मा प्रस्ताव ल्याउने तयारी गर्नु भएको छ । आज बसेको नेकपा सचिवालय बैठकमा ओलीले आफूले पनि प्रस्ताव ल्याउने बताउनु भएको थियो ।