×

TUNGOON

ललितपुर महानगरपालिकाद्वारा कात्तिक नाच संरक्षण समितिलाई ५० लाख हस्तान्तरण



काठमाडौं । पुस २६ गते
शनिबार ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई ५० लाख हस्तान्तरण गरेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनु भएको छ । उक्त रकम प्रमुख महर्जनले समितिका अध्यक्ष किरण चित्रकारलाई कात्तिक नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न सहयोग गरेको बताउनु भएको छ । कार्यक्रममा महानगरपालिकाका प्रमुख महर्जनले गत वर्ष आफूले अक्षयकोष स्थापना गर्न रकम सहयोग गर्ने प्रतिवद्धता जनाएसँगै यस वर्ष भने ५० लाख दिन सफल भएको बताउनुभ भयो । विष्णुपुराणमा आधारित यस नाचले जनतालाई एउटै सूत्रमा बाँधेर एकछत्रमा ल्याई मनोरञ्जन दिने भएकाले सदियौँसम्म जोगाइराख्नुपर्ने प्रमुख महर्जनको भनाई छ । यसैगरी उहाँले वडा नं २१ खोकनामा नाचिने ‘रुद्रायणी नाच’ र वडा नं २९ हरिसिद्धिमा मनाइने हरिसिद्धि भवानीको जात्रा एवं नाच’ संरक्षणका लागि रकम सहयोग गर्ने योजना बनाइरहेको जानकारी दिनु भएको छ ।

समितिका अध्यक्ष चित्रकारले सो नाचको माध्यमद्वारा देशमा आउने विघ्नबाधा हटि शान्ति र सुव्यवस्था कायम रहने विश्वास रहँदा कोष स्थापना गर्न सहयोग पुगेको धारणा राख्नु भएको थियो । उहाँले यसअघि हामीलाई कोष स्थापनाका लागि पहिलोपटक नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले रु १० लाख सहयोग गरिसक्नुभएको जानकारी दिनु भएको छ । त्यसैगरी अझै अन्य दाताबाट पनि रकम सहयोग हुने अपेक्षा रहेको उनको मत थियो । हरेक वर्ष पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा सो नाच मञ्चन गर्ने गरिन्छ ।

सो नाच ललितपुरको मात्र नभई सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत सांस्कृतिक जर्गेना गर्ने एक माध्यम बनिरहेको छ ।कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । विसं १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यस नाच चलाएका थिए । सो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव रहेको दाबी गरिन्छ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवर्द्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको जानकारहरुको भनाइ छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला