काठमाडौं । फागुन २३ गते
आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपां) नाम मात्र ऋषि कट्टेल नेतृत्वकै पार्टीले पाएको हो र न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको छ । सर्वोच्चमा परेको मुद्दामा कट्टेलको पक्षमा आदेश भएको हो । अदालतको यो आदेशले सत्तारुढ दल नाम बेगरको पार्टी भएको छ ।न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा आदेश गरेको हो। कट्टेलले नेकपा दाबी गर्दै रिट निवेदन दायर गरेका थिए ।

निर्वाचन आयोगले २०७५ जेठ २३ मा नेकपा नाम अभिलेखीकरण गरेको थियो । कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएको थियो । उनले अरु हैसियतमा नभएर खाली नामका लागि मात्रै आफ्‍नो दाबी प्रस्तुत गरेका थिए । सर्वोच्चको फैसलामा भनिएको छ, ‘माथि उल्लेख भइ विवेचना भएको कानूनी आधार काराण समेतबाट नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भैसकेको आवस्थामा सोही दर्ता भैसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षी मध्येका निर्वाचन आयोगको मिति २०७५–०२–२३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५–०७–०९ को निर्णय फैसला राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ६९१० (ङ) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ९ मा भएको कानूनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ ।

त्यस्तै सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको बताउनु भएको छ । उहाँले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ हेर्न नपाएको भन्दै हेरेपछि थप प्रतिक्रिया दिने बताउनु भएको छ ।