काठमाडौं । चैत २५ गते
नेकपा माओवादी केन्द्रले आफूलाई सांसद पदबाट हटाउनुलाई लोकतन्त्रको उपहास भएको सहरी विकास मन्त्री प्रभु साहको भनाई रहेको छ । सहरी विकासमन्त्री प्रभु साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने निर्णयलाई लोकतन्त्रको उपहास भन्दै आफूमाथिको कारवाहीप्रति चर्को आक्रोश व्यक्त गर्नु भएको छ । सर्वोच्च अदालतले एकीकरण गरि बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई अमान्य घोषित गरेपछि एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो। त्यसपछि माओवादी केन्द्रबाट सांसद रहेका साहसहित गृहमन्त्री रामबहादुर थापा, उर्जा मन्त्री टोपबहादुर रायमाझी लगायतका नेकपा एमाले प्रवेश गरेका थिए।

माओवादी केन्द्रले मंगलबार लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई कारवाही गर्दै सांसद पदबाटै हटाउने निर्णय गरेको थियो।मन्त्री साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कदमलाई लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठाको संज्ञा दिनु भएको छ । निर्वाचन जित्न साझा घोषणा पत्रमा एमालेसँग सहकार्य गरेको र माओवादी केन्द्रले अझै पनि एमाले सरकारलाई समर्थन गरिरहेको भन्दै उहाँले जनप्रतिनिधि माथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले नसुहाउने समेत बताउनु भएको छ ।ुनिर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफुलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएको ेउहाँले उल्लेख गर्नु भएको छ । प्रचण्डले प्राविधिक र कानूनी आडमा चालेको कदम जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत रहेको भन्दै साहले क्रियाशील सांसदहरुको पदमाथि अनुचित रुपमा हमलाको दुष्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य भएको बताउनु भएको छ ।