काठमाडौं । चैत २६ गते
भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्न मुलुकमा राष्ट्रवादी शक्ति दलगत स्वार्थ त्यागेर अब एकढिक्का हुनुपर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले जोड दिनु भएको छ । राप्रपा मकवानपुरद्वारा हेटौँडामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रवादी शक्तिको एकता हुनुपर्ने बताउनु भएको छ ।

अध्यक्ष थापाले राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण संवर्द्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणका निम्ति अबको विकल्प भनेकै राप्रपा भएको दाबी समेत गर्नु भएको छ । उहाँले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रिय हित नहुने समेत बताउनु भएको छ । अध्यक्ष थापाले प्रमुख दलले सत्ता र शक्तिको निमित्त मात्रै प्रतिस्पर्धा गर्ने होडबाजीले देशमा राजनीतिक दुर्घटना निम्तिने खतरा बढेको उल्लेख गर्नु भएको छ ।