काठमाडौं। चैत २७ गते
विद्यालय जाने बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण उच्च रहेकाले अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । १८ वर्षभन्दा मुनीका बालबालिकाहरुमा १६ प्रतिशत संक्रमण पाइएकाले अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनु भएको छ ।

उहाँले हालसम्म संक्रमण भएकामध्ये ७.५ प्रतिशत बालबालिका संक्रमित भएका छन् । पछिल्लो समय संक्रमणको दर उच्च बनिरहेको छ र विद्यालय संवेदनशील क्षेत्र भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन हामीले शिक्षा मन्त्रालयलाई सिफारिस गरेको जानकारी दिनु भएको छ । शिक्षा मन्त्रालयले भने विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिइसकिएको बताएको छ ।स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीले स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताउनु भएको छ ।