काठमाडौं। चैत २७ गते
पार्टीलाई एकताबद्ध गर्ने हो भने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्कनु पर्ने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताउनु भएको छ । आज विराटनगरमा एमालेको समानान्तर मोरङ जिल्ला समिति गठन गर्न आइपुगेका नेता नेपालले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा पुर्‍याउन आग्रह गर्नु भएको छ । नेपालले पार्टीमा ओली मात्र नभएर अष्टलक्ष्मी शाक्य, वामेदव गौतम, भीम रावल र युवराज ज्ञवालीलगायतका धेरै नेताहरू पनि निर्वाचित भएको स्मरण गर्नु भएको छ ।

नेपालले उहाँहरूलाई यथावत् स्थान दिइनुपर्ने भन्दै महाधिवेशनले चुनेका नेताहरूलाई अनाहकमा निकालेर पार्टी एकताबद्ध र विवादको समाधान नहुँने उल्लेख गर्नु भएको छ । उहाँले अध्यक्ष ओलीले आफ्ना केही भक्त र भजनमण्डलीलाई मात्र पार्टीमा प्रश्रय दिएको उल्लेख गर्दै ओलीको दास हुन नसक्नेहरू सङ्गठित भइरहेको जानकारी दिनु भएको छ । नेता नेपालले ओलीले पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई आघात पुर्‍याएर एक्लिँदै गएको दाबी गर्नु भयो ।