काठमाडौं । बैशाख ३ गते
बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटनका क्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुखले नै सत्ता स्वार्थका लागि देशलाई नै बन्धकी राखेको आरोप लगाउनु भएको छ । उहाँले प्रधानमन्त्री ओलीले जनताको प्रतिष्ठा, आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाउने दुस्साहस गरेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको नामै नलिई घुमाउरो पारामा हिजोआज समाचार हेर्नुभयो भने देशलाई बन्दकी राख्ने, राष्ट्रिय हितका विरुद्ध षडयन्त्र गर्ने काममा स्वयं सरकारको नेतृत्व लाग्ने खबर देखिएको उल्लेख गर्नु भएको छ । बिहीबारदेखि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुख सामन्त गोयलबीच भएको भनिएको सम्झौताको पत्र दाबी गरेर केही सञ्चारमाध्यममा आएपछि यो विषय विषय चर्चित भएको छ। यसको पक्ष विपक्षमा बहस जारी छ। अध्यक्ष प्रचण्डले ओलीलाई लक्षित गर्दै तानाशाही एकचोटि परास्त भए पनि पूरै परास्त अझै नभएको बताउदै अझै षड्यन्त चलिरहेको उल्लेख गर्नु भएको छ । उहाँले प्रगतिविरोधी तथा राष्ट्रविरोधी तत्वहरू इतिहास पछाडि धकेल्ने प्रयासमा रहेको आरोप लगाउनु भएको छ ।