काठमाडौं । बैशाख १८ गते
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान प्रकट गर्नु भएको छ ।श्रमिक दिवसका अबसरमा शुभकामना दिंदै उहांँले दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीविलाई एकताका सुत्रमा बाँध्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकहरुको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न सम्बद्ध पक्षको ध्यान आकृष्ट समेत गर्नु भएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमार्फत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीप्रति शुभकामना सन्देश दिँदै ओलीले आर्थिक वर्ष २०७८र७९ बाट लागू हुनेगरी श्रमिक र कर्मचारीको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताउनु भएको हो । उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुयाइने दाबी गर्नु भएको छ । यसैगरी दैनिक पारिश्रमिक ५१७ रुपियाँबाट ५७७ रुपियाँ बनाइने भएको छ।स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भइसकेको उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ ।

उहाँले नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको बताउँदै उनले श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको उल्लेख गर्नु भयो । उहाँले सामाजिक सुरक्षा र औपचारिक तथा अनौपचारिक श्रम क्षेत्रका श्रमिकहरूलाई क्रमशः योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिने बताउँदै दैनिक ज्यालादारी र करार सेवामा कार्यरत सरकारी सेवाका कामदार र कर्मचारीहरूबाट स्पष्ट पार्नु भएको छ । ओलीले एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’उपलब्ध गराएको बताउनु भयो ।उहाँले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको दाबी समेत गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मानिसका लागि जीवन सबैभन्दा महत्त्वपूर्ण भएकाले महामारीबाट आम नेपालीको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताए। उनले अहिले सरकार महामारी नियन्त्रण, उपचार र रोकथामसँगै गर्नुपर्ने अवस्थामा रहेको बताउँदै कोरोनाविरुद्धको खोप सबैलाई छिट्टै खोप उपलब्ध गराउनेमा प्रतिबद्धता जनाउनु भएको छ ।