काठमाडौं । बैशाख १८ गते
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतसँग जोडिएका २२ वटा नाका बन्द गरेपनि स्थलमार्गबाट घर फर्कन चाहने नेपालीलाई कुनै पनि समस्या नहुने बताउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै २२ वटा नाका बन्द गर्ने सरकारको निर्णयले स्वदेश फर्किन समस्या हुने हो कि भनेर चासो व्यक्त गरिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले सबै नाका बन्द नगरेकाले समस्या नहुने जानकारी दिएको हो ।

१३ वटा नाका खुला रहने र घर फर्कन चाहने नेपाली नागरिकले उक्त रुटहरु प्रयोग गर्न सक्ने मन्त्री ज्ञवालीले जानकारी दिनु भएको छ । कोरोना संक्रमणको फैलावट रोक्ने उद्देश्यले सरकारले भारतसँग जोडिएका २२ नाका बन्द गर्ने निर्णय गरेको छ । साथै सीसीएमसीले हवाई सेवासमेत बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।महामारीका कारण भारतमा रोजगारी गुमाएका धेरै नेपाली नागरिकहरु स्वदेश फर्किरहेका छन् । जहाज मार्फत आउन नसक्ने नेपाली नागरिक स्थलमार्ग हुँदै खुल्ला गरिएका नाकाबाट आउन सक्ने सरकारले बताएको छ ।