काठमाडौं । बैशाख १८ गते
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आइतबार दिउँसो १ बजेदेखि सुरू हुँदैछ । विशेष अधिवेशनको पूर्वसन्ध्यामा लुम्बिनीमा एमालेले प्रदेश संसदीय दलको बैठक बोलाएको हो । एमालेले आइतबार बिहान ८ बजेका लागि प्रदेश संसदीय दलको बैठक बोलाएको छ । प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ ।

गत वैशाख ६ गते प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । उक्त प्रस्तावमाथि प्रदेशसभामा हुने मतदानका लागि रणनीति तय गर्न एमालेले प्रदेश संसदीय दलको बैठक बोलाएको हो । लुम्बिनीमा कर्णालीको घटना नदोहोरिनेमा एमाले ढुक्क बन्न सकेको छैन । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई, जसपाका चार सांसद पदमुक्त भएपछि प्रदेशसभामा ८१ सांसद रहेको सूचना प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ ।