काठमाडौं । बैशाख २३ गते
कमिसनको खेलमा कोरोना भाइरसविरुद्धको खोप आयात रोकिएको सुन्दा लज्जा लागेको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बताउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेता कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यवसायीहरु बिजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताउनु भएको हो ।

आज पहिलो चरणको महामारीका समयमा ठूलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो । उहाँले देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यवसायीहरुले जनस्वास्थ्यमा गरेको यति ठूलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन। यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्ने बताउनु भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको बताइन्छ ।