एनआरएनए अमेरिकाको आगामी कार्यकाल २०२१-२०२३ का लागि हुन गईरहेको निर्वाचनमा म्यासाचुसेट्स च्याप्टर अध्यक्षमा वर्तमान अध्यक्ष प्रेम तामाङ र वर्तमान उपाध्यक्ष हरि प्रसाद काफ्ले “शैव” बीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा शुरुदेखि हरि प्रसाद काफ्ले चर्चामा रहे पनि एउटै क्याम्पका चन्द्र देव मंडलले पहिल्यै अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेपछी उम्मेदवारी घोषणा गर्न काफ्लेले लामो समय कुर्नु पर्यो ।

काफ्लेलाई उनले संचालन गरेको नमस्ते रेष्टुरेन्टमा गत साल नेपालको सुदुर पश्चिम तिरका एक नेपालीलाई काममा लगाएर एक हप्ताको तलव नदिएको लान्छाना लगाउन तयार भएका मंडललाई तिब्र दवाव दिएर केन्द्रको बोर्ड अफ डाइरेक्टरमा थन्क्याई हजुरी सिंहलाई उपाध्यक्षमा राखेर त्यहां भित्रको आन्तरिक किचलोलाई सामसुम पारिएको छ ।

आन्तरिक किचलोलाई सामसुम त पारियो तर सकभर एउटै बिचार भएका र आफ्नै गुटकोलाई मात्र लिने प्रवृत्तिले विगतमा गोजीबाट लिष्ट झिकेर टीम बनाएकाहरुलाई फूल कमिटी बनाउन यो पटक निकै पापड बेल्नु परेको विश्वस्त सुत्रको भनाइ छ । अघिल्लो पटक निर्वाचित व्यक्तिहरुले दोहोरयाउन नचाहेपछी कतिपयलाई जन सम्पर्क समितिको बैठकमा डाकेर नोमिनेशन गराइएको छ भने बोस्टनको नेपाली कम्युनिटी कार्यक्रमहरुमा कहिले नदेखिएका अनुहार मान्ती शाह जस्ता हरुलाई टीममा समेटिएको छ । उनै मान्ती शाह बौद्धिकता र लोकप्रियताको कारण अन्जुको टाउको दुखाइको बिषय हुने र उनको उम्मेदवारी अन्जुलाई भारी पर्ने भनेर आजभोली डटकमले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।

अनुभवका हिसावले जिल्ला शिक्षा कार्यालय, बारामा काम गर्नु भएकी शाहको बौद्धिकता र विद्वता के मा हो त्यो भने खुलाइएको छैन । यस बिषयमा अन्जु थापालाई प्रश्न गर्दा को माथी को भारी भन्ने कुरा चुनावी नतिजाले प्रष्ट पार्ने र कसैको उम्मेदवारीले आफ्नो टाउको नदुखेको उहांको प्रतिकृया थियो ।

उता प्रेम तामाङ टीम सहित आगामी निर्वाचन जित्नेमा ढुक्क देखिनुहुन्छ । आफ्नो टीममा कुनै वाद र विचार नभई काम गर्न रुचि भएका सबैलाई समेटिएको तामाङको भनाइ छ । हजुरी सिंह अघिल्लो पटक मेरो टीमबाट बिजेता बन्नु भएको हो तर अहिले प्रतिद्वन्दी टीममा हुनुहुन्छ । यसमा टाउको दुखाइको बिषय नै के छ र? उहाँको प्रतिप्रश्न थियो ।

विगतमा निर्विरोध निर्वाचित भइरहने म्याचुसेट्मा अघिल्लो पटकदेखि प्रतिष्पर्धा हुन थालेको हो । मतदाताका हिसावले यो पटक छैटौं स्थानमा रहेकोले केन्द्र र आईसीसीका उम्मेदवारहरुको ध्यान पनि म्यासाचुसेट्ले खिचेको छ । केन्द्रीय अध्यक्षका प्रत्यासीहरु कृष्ण लामिछाने र तिलक केसीले टीम सहित यो राज्यमा साक्षात्कार गरिसकेका छन् भने डा. अर्जुन बन्जाडे र बुद्धि सागर सुवेदी पनि आउने तयारीमा रहेको बुझिएको छ ।