काठमाडौं । बैशाख २५ गते
हाल कोरोना संक्रमणको दोस्रो लहर बिश्वभर तिव्र स्पमा फैलिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हाल नेपालका ६२ वटा जिल्लामा निषेधाज्ञा लगाएको छ ।आजसम्म ५१ जिल्लामा पूर्ण र बाँकी ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

आज थप पर्वतको जलजला गाउँपालिका वडा नम्बर २, ३ र ४ तथा वडा नम्बर ७ को बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञा आज राति १२ बजेदेखि सुरु भइ आउँदो ३१ गते १२ बजेसम्म लागू हुनेछ ।दार्चुला र सङ्खुवासभामा भोलिदेखि निषेधाज्ञा सुरु हुनेछ । आउँदो जेठ चार गतेसम्मको विभिन्न मितिमा गरी १९ जिल्लामा निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण देशभर नै बढिरहेकाले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयको अनुमान छ । गृह मन्त्रालयले काम नपरि बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।