काठमाडौं । बैशाख २५ गते
सरकार संविधान नै भत्काउने बाटोमा अघि बढेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आरोप लगाएको छ । आज अध्यादेश ल्याएर विभिन्न नियुक्तिका विषय अघि बढाएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाउनु भएको छ । पटकपटक अध्यादेश ल्याएर शासन गरी सरकारले संविधान भत्काएको देउवाको भनाइ छ ।

 

विज्ञप्तिमा लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने भएकाले संवैधानिक निकायको नियुक्तिका लागि नेपालको संविधानले संवैधानिक परिषद्को विशेष व्यवस्था गरेको उल्लेख गरिएको छ । त्यस्तै वर्तमान सरकारले संवैधानिक परिषद्को मर्यादा र गरिमालाई समाप्त गर्ने यसको कार्य क्षेत्रलाई संकुचित गर्ने गरि पटक–पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेको र नेपाली काँग्रेसले प्रारम्भ देखिनै उक्त कार्यको विरोध गर्दै आएको पुष्टि गरिएको छ ।