काठमाडौं । बैशाख २८ गते
जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अहिलेको प्रश्न एक थान सरकार गठनको मात्र नभएको बताउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै अबको अहं प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोना लगायतका राष्ट्रिय समस्याको हल गर्नु रहेको उहाँको भनाई छ । उहाँले राष्ट्रिय भूमिका अव दलहरूको कोर्टमा आएको बताउनु भएको छ ।

सबै दल संकीर्ण दलीय÷गुटीय सोच भन्दामाथि उठ्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्नेमा जोड दिनु भएको छ । त्यस्तै भट्टराईले वैकल्पिक सरकार बन्न नदिने र संसद विघटन गर्दै प्रायोजित चुनाव गर्ने रणनीति असफल बनाउन सतर्क रहन सबैलाई अपिल पनि गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति संस्था नै दुरुपयोग गर्दै जसपा फुटाउन खोजिएको आरोप लगाउनु भएको छ ।