काठमाडौं । बैशाख २८ गते
अहिले भारतमा फैलिएको कोरोनाभाइरस भेरिएन्टलाई चिन्ताजनक भेरिएन्ट अर्थात ‘भेरिएन्ट अफ कन्सर्न’ घोषणा विश्व स्वास्थ्य संगठनले गरेको छ । डब्लुएचओका अनुसार भारतमा सबैभन्दा पहिले अक्टोबर महिनामा पाइएको यो भेरिएन्ट बी–१६१७ धेरै संक्रामक देखिएको छ र यो सजिलै फैलिन सक्छ ।
कोरोनाभाइरसका विषयमा विश्व स्वास्थ्य संगठनकी प्रमुख मारिया भेन केरखोवका अनुसार एउटा सानो नमूनामा गरिएको प्रयोगशाला अध्ययनमा यो भेरिएन्टमा एन्टिबडीको असर कम भएको पाइएको छ ।

 

विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार यो भेरिएन्टविरुद्ध अहिलेसम्म उपलब्ध जाँच र भ्याक्सिन प्रभावकारी देखिएको छ । यो भेरिएन्टबाट संक्रमितहरुलाई पहिलेका संक्रमितलाई जस्तै उपचार दिइएको छ त्यसैले मानिसहरुले यो भेरिएन्टका लागि छुट्टै उपचार विधि खोज्नु पर्दैन बरु उनीहरुले भ्याक्सिन लगाउनुपर्छ । बेलायत, ब्राजिल र दक्षिण अफ्रिकापछि भारत चौथो देश हो जहाँ फैलिइरहेको भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनले चिन्ताजनक भनेको छ ।