काठमाडौं । जेठ ३ गते
माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलको भनाई छ । आज जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा भर्चुअलरुपमा आयोजित ‘समकालीन विश्व परिस्थिति र माक्र्सवादको सान्दर्भिकता’ विषयक जननेता भण्डारीको कोलकोतामा प्रस्तुत कार्यपत्र (पुस्तक) मा आधारित अन्तरक्रियामा पोखरेलले एमालेभित्रको विवादको समाधान कार्यदलमार्फत हुने स्पष्ट गर्नु भएको छ ।

एमालेभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा गठित कार्यदलका सदस्य पोखरेलले ‘जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा रहेर यसलाई अझ विकास गर्दै समृद्धिको यात्रामा पार्टी र सरकारको नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले विश्वमा क्रान्तिपछिको रुपान्तरणमा समाजवादी पार्टीमा अलमल देखिने भए पनि नेपालका सन्दर्भमा उपयुक्त रुपमा क्रान्तिका कार्यभार पूरा गर्न जबज सार्थक रहेको उल्लेख गर्नु भएको छ ।