काठमाडौं । जेठ ३ गते
कोरोना रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँच पासलाई पहिलो प्राथमिकता दिन अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिनुभएको छ ।आज भर्चुअल माध्यमबाट भएको कार्यक्रममा अर्थ मन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखलाई लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपुर्जा लगायतका सामग्रीको विना झन्झट भन्सार जाँच पास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिनुभएको हो ।

पौडेलले कोरोनाको उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रूपमा जानकारी गराउन पनि निर्देशन दिनुभयो । कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले कोरोना रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँच पास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिनुभयो ।